भैरहवा । नेपालले कतारलाई उपहारस्वरूप दिएको दुईवटा हात्ती हस्तान्तरण गरेको छ । बुधबार भैरहवामा विशेष कार्यक्रम गरी उपहारस्वरूप दिएको ‘खगेन्दप्रसाद’ र ‘रुद्रकली’ कतारलाई हस्तान्तरण गरेको हो । दुई हात्ती लिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको कार्गो जहाज आएको थियो ।
उनीहरुलाई यहाँबाट लगेर कतारको अलखोर चिडियाखानामा राखिनेछ । यसअघि मंसिर २९ गते चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका ‘खगेन्दप्रसाद’ र ‘रुद्रकली’को बिदाइ गरिएको थियो । हात्तीसँगै माउतेहरू रुद्रकलीका बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका पचुखाँ चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालसमेत कतार गएका छन् ।
दुवै जनाले कतारमा हात्तीको स्याहारसुसारका विषयमा त्यहाँका माउतेलाई तालिम दिएर फर्कने छन् । नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार हात्तीलाई कतार पठाउन लागिएको हो । कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरु गएर अध्ययन गरेपछि हात्ती पठाइएको हो ।
यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ ।
यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये छ वटाको मृत्यु भएको छ । नेपालमा हाल सरकारी तवरबाट पालिएका १०५ वटा हात्ती रहेका छन्, जसमध्ये चितवनमा ५८ वटा रहेका निकुञ्ज प्रशासनले जनाएको छ । यस्तै, नेपालमा निजी क्षेत्रबाट पालिएका ७३ वटा हात्ती छन् भने जङ्गली हात्ती ४०० भन्दा बढी भएको अनुमान गरिएको छ ।
यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोही आधारमा कतार सरकारको कूटनीनिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाइएको हो ।



प्रतिक्रिया