काठमाडौँ । मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ ।
सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ । उक्त सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।
सूचनामा भनिएको छ, ‘सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११३ ( ६ ) को प्रावधान बमोजिम पेश्की जमानत वापतको रकम जफत गरिने र सयकडा १०% का दरले व्याज असुल उपर गरिने तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ (२) बमोजिमको उपचार प्राप्त गरिने साथै सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ तथा GCC Clause ७४ को प्रावधान बमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने छ । हालसम्म अद्यावधिक भएको काम र बाँकी कामको नाप जाँच तथा मूल्याङ्कन गरी वित्तीय फरफारख गर्न यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा उपस्थित हुन समेत अनुरोध गरिन्छ । निर्माण व्यवसायी वा निजको प्रतिनिधि उपस्थित नभएमा कार्यालयवाट नापजाँच गरिनेछ ।’

प्रतिक्रिया