ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी


गाल्जे । तिलागुफा नगरपालिका–४ का स्थानीयवासी अहिले त्यो दिन अर्थात् विसं २०७९ असोज १८ देखि २३ गतेका हर क्षण सम्झन त परै जाओस् सुन्न पनि चाहँदैनन् ।

उनीहरूका लागि करिब एक हप्ता त्रासदिपूर्ण र अतिकष्टपूर्ण रह्यो । ती समयका हरक्षण यति कष्टपूर्ण बने उनीहरूका लागि शब्दमा व्यक्त गर्न चाहँदैनन् । ती दिन उनीहरूका लागि ‘कालोदिन’मा परिणत भयो ।

असोज १८ गतेदेखि नै छमछम वर्षा दर्किँदै थियो । बिस्तारै वर्षा बढ्दो गयो । सुक्खा पहाडबाट पहिरा झर्न थाल्यो । पहिराले कर्णाली राजमार्गअन्तर्गत १८ किमी सडक क्षणभरमा क्षत्विक्षत बनायो । पहिरामा मानवीय क्षतिसमेत हुन थाल्यो ।

यही क्रममा अकालमा ज्यान गुमाएका यहाँका हेमराज शाहीको असोज २३ मा दाहसंस्कार हुँदै थियो । अकस्मात् खोलामा आएको बाढीले संस्कारमा सहभागी भइराखेका ११ जनालाई बगाएर तिला नदीमा समाहित गरिदियो । ती ११ जना सबै नै ‘शाही’ थिए ।

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले भने, ‘त्यो विपद् मेरा लागि अग्निपरीक्षा साबित भयो । विपद्को सामना गर्नुको अर्को विकल्प थिएन । विपद्मा सहयोग गर्न राष्ट्रिय आह्वान गरेँ । पहिलो नम्बरमा नेपाल रेडक्रसलाई सम्झेँ । तत्काल ओत, खाना व्यवस्थापनतिर लागे । रेडक्रसले उसको सामर्थ्यले भ्याएसम्म सहयोग गर्‍यो । ऊ नै पहिलो सहयोगी बन्यो । मानवीय सेवाका लागि यहाँ उसले गरेको काम नगरवासीले कहिल्यै भुल्न सक्दैनन् ।’

कर्णाली राजमार्गसँगै जोडिएका यो नगरपालिकामा ११ वडा छन् । ती वडाहरू यति दुर्गम छन् कि सबै वडाका बस्तीमा पुग्न पैदल ४२ दिन लाग्छ । वडा नं ९, १० र ११ तिला नदी पारि छन् ।

विसं २०७९ असोजको बाढीले तिला नदीको पक्की पुल बगाइदिँदा ती वडामा यातायात सेवा स्थायी रुपमा सञ्चालन गर्न अहिले पनि नगरपालिकालाई धौ धौ नै परिरहेको छ ।

नगरपालिकाका सबै वडा विभिन्न किसिमका विपद् र स्वास्थ्यको दृष्टिकोणले जोखिममा छन् । ती जोखिमलाई घटाई समुदायलाई उत्थानशील बनाउन लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रसले नगरपालिकासँगको सहकार्य र समन्वयमा खानेपानी र सरसफाइ, स–साना सिँचाइ, स्वास्थ्य, जीविकोपार्जन, शिक्षाका विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।

यी गतिविधिबाट बाढी पीडितलाई मल्हम त लगाएकै छ । अगामी दिनमा यस्ता अकल्पनीय घटना नदोरियोस् भन्नाका लागि पूर्व सचेतनाका कार्यक्रम पनि साथसाथमा सञ्चालन गरिरहेको छ ।

हालसम्म गाल्जे खानेपानी आयोजना, दलित टोल बदमवाडा खानेपानी आयोजना, देवार्ताेली खानेपानी आयोजना, देउरुख खानेपानी आयोजना सम्पन्न भई समुदायलाई हस्तान्तरणसमेत गरिसकिइएका छन् ।

ती आयोजनाबाट अतिविपन्न समुदायका करिब एक हजार परिवार लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपद् प्रतिकार्यका क्षेत्रमा नेपाल रेडक्रसले निरन्तर सहयोग जारी राख्ने जानकारी दिइन् ।