काठमाडौँ। जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ।
यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्वायत्त क्षेत्रको ल्हासा सहरमा भएको उक्त सम्मेलनमा महिला अधिकार, कानुन र तिब्बती उपचार पद्धतिका साथै महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलाको विकासमा दुवै देशबिच सहकार्यका सम्बन्धमा छलफल भएको हो।
सम्मेलनमा आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले नेपाली महिला प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो। नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा दुवै देशका महिलाबिचको यो पहिलो औपचारिक महिला सम्मेलन भएको थियो। सम्मेलनले दुई देशबिचको मैत्रीपूर्ण सहकार्य अझ सुदृढ गर्दै महिला विकासका नयाँ मार्गहरू पहिचान गरेको आयोगका सदस्य रानाको भनाइ छ।
समावेशी नेपाली प्रतिनिधिमण्डलमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार कालिका खड्का, उद्योग परिसङ्घ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, नेपाल ‘ल’ क्याम्पसका सहायक प्राध्यापक डा विष्णु बस्याल, नेपालस्थित चिनियाँ दूतावासका युवा सदस्यहरू सदस्य कुन्दन शर्मा (मेकालिनकल इञ्जिनियर) र श्रीया गिरी (मानसिक स्वास्थ्य विद्), जेनजी पुस्ताकी प्रतिनिधि ओजस्वी भट्टराई र आयोगका सदस्य रानाकी सहयोगी प्रतिक्षा घले गुरुङ सहभागिता रहेको थियो।
“यो सम्मेलन नेपाल–चीनका महिलाबिचको संवाद मात्र होइन, दुई देशका महिलाका बहुआयामिक क्षेत्रमा सहकार्यको नयाँ सुरुवात भएको छ”, आयोगका सदस्य रानाले भनिन्, “यसलाई निरन्तरता दिन सकियो भने दुवै देशका महिला र युवाको भविष्य उज्यालो हुनेछ।

प्रतिक्रिया