शनिबारदेखि सातामा दुई दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त घोषणा


ललितपुर । ललितपुर महानगरपालिकाले शनिबारदेखि सातामा दुई दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त घोषणा गरेको छ । पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकिनेछ ।

यसलाई लगातार दुई महिना परीक्षण गरी थप समय र दिन विस्तार गरिने समेत महानगरले जनाएको छ । पहिलो चरणमा १३, १७ र २० मंसिरमा सवारी रोकिँदै छ भने २४ र २७ गते भने बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने छ ।

दोस्रो चरणमा ५, ९ र १२ पुसमा गाडी निषेध गरिने छ । सोही महिनाको १६ र १९ गते बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने भएको छ । महानगरका अनुसार आकस्मिक सेवाका सवारीसाधनबाहेक सबै सवारी रोकेर यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन् ।