इटहरी (सुनसरी)। कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका शोभाकली नामक अभिमुखी हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन्। आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले कात्तिक ३० गते आइतबार राति १०:३० बजे स्वस्थ छावा जन्माएकी हुन्।
जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको र चिकित्सक तथा माहुते टोलीको निगरानीमा राखिएको आरक्षले जनाएको छ। जन्मेको ११औँ दिन आज नवजात हात्तीको औपचारिक नामकरण कार्यक्रम आयोजना गरिएको आरक्ष प्रमुख यादवले जानकारी दिए। आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा सम्पन्न समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको हो।
“शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन्। उनी गस्ती, वन्यजन्तु अनुगमन तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्,” प्रमुख यादवले बताए।
योसँगै शोभाकलीबाट जन्मिएका छावा संख्या सात पुगेको छ। उनका अधिकांश सन्तान विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषण भइरहेका छन्। नवजात भुपेन्द्र गज प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको र जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुते टोलीले जनाएको छ।
१७५ वर्ग किलोमिटरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष हात्ती, गैँडा, हरिण, निलगाईसहित ४५० भन्दा बढी चराप्रजातिको महत्वपूर्ण आवासस्थल मानिन्छ। आरक्षमा कार्यरत हात्तीहरूले सीमावर्ती क्षेत्र निगरानी, अवैध सिकार रोकथाम तथा संरक्षण गतिविधिमा उल्लेखनीय योगदान दिँदै आएका छन्।

प्रतिक्रिया