डा. उपाध्याय
आजको मानिस विज्ञानले आकाश चुमिसकेको छ, प्रविधिले असम्भव जस्तो देखिने कुरा सम्भव बनाइदिएको छ, शहरहरू अग्ला भए, तर मन—मानिसको मन—पहिलेभन्दा झन् कमजोर, अस्थिर, बेचैन र directionless भइरहेको छ। प्रगतिले जति कुरा सजिलो बनायो, उति नै मानिस भित्रभित्रै एक्लो, खाली र थकित बन्दै गयो। यही कारण आधुनिक मानव फेरि आध्यात्मिकता र मूल्यहरूको खोजतर्फ मोडिएको छ। पुराना धर्म–परम्पराहरूलाई पुनः पढ्ने, बुझ्ने, र नयाँ अर्थ दिने प्रयास पुनर्जीवित भएको छ। यस्तै परिवेशमा अहमदीया मुस्लिम समुदायका अगुवा विद्वान् सर मोहम्मद जफरुल्ला खानको को IslamM Its Meaning for Modern : बल एक सुन्दर, सौम्य र बौद्धिक प्रकाशझैँ लाग्छ—इस्लामलाई भय होइन, प्रकाशका रूपमा बुझाउने एउटा गहिरो प्रयत्न गरेको छ ।
यस पुस्तकले इस्लामलाई केवल नियम, प्रार्थना र रीति–रिवाजको धर्मका रूपमा होइन, मानवीयताको गहिरो यात्रा, सामाजिक न्यायको साधन, र आत्म–शान्तिको माध्यमका रूपमा प्रस्तुत गर्छ। लेखकले सुरुमा इस्लाम उदय हुनु अघि अरब समाज कस्तो थियो—कडा, कठोर, अन्यायपूर्ण र असमानताले भरिएको—त्यसको चित्र कोर्छन्। त्यही समाजमा एउटा अनाथ बालक मुहम्मदले मानवीयता, संवेदना, सत्य र करुणाको बाटो समाते। उनको जीवन—बचपनदेखि मदीनामा इस्लामी समाजको निर्माणसम्म—पुस्तकभरि असाधारण कोमलता र सत्यतासाथ प्रस्तुत गरिएको छ:
पुस्तक पढ्दै जाँदा बुझिन्छ, इस्लामका संस्थापक गुरू मुहम्मदको नेतृत्व कुनै चमत्कारी वा अलौकिक शक्ति होइन; सामान्य मानिसका पीडा, भोक, अपमान र आँसु बुझ्ने असाधारण क्षमतामा आधारित थियो। बाटोमा भेटिएको बुढा दासलाई पानी तान्न मद्दत गर्ने, अनाथहरूको हात समात्ने, गरिबलाई सम्मानपूर्वक बोलाउने—यी सबै घटनाहरूले इस्लामको वास्तविक आत्मालाई उजागर गर्छन्। धर्म आखिर कहाँ जन्मिन्छ? मानिसको पीडामा, उसलाई उठाउने हातमा, उसलाई मुस्कान दिने शब्दमा।
आज कतिपयले इस्लामलाई हिंसा, कट्टरता वा आतंकसँग जोडेर बुझ्छन्। तर पुस्तक अत्यन्त शान्त स्वरमा भन्छ—इस्लामको पहिलो शब्द नै “पढ” हो। यसले मानिसलाई डराउन होइन, उज्यालोतर्फ बोलाउन आएको हो। इस्लामले मानवलाई दण्ड होइन, सम्भावनाबाट हेर्छ। मानिस कमजोर छ, तर उभिन सक्छ; गल्ति गर्छ तर सुध्रिन सक्छ; अँध्यारोमा छ तर प्रकाशमा पुग्न सक्छ—यही आशा कुरआनले दिन्छ। यही कारण लेखकले इस्लामलाई बुद्धिको धर्म पनि भन्छन्, मनको धर्म पनि भन्छन्।
मानिसको भित्री जीवनमा प्रार्थनाको अर्थ लेखकले निकै संवेदनशीलतापूर्वक व्यक्त गर्छन्। प्रार्थना कुनै दण्डको डरले गरिएको कर्म होइन, यो मनलाई हलुका बनाउने, फुर्सद दिने, आफ्नै भीडभाडबाट बाहिर निकालेर केहीबेर शान्त कोठामा बिसाउने प्रक्रिया हो। आज World Health Organization ले ‘मानसिक स्वास्थ्य’ को संकटलाई विश्वव्यापी समस्या भनेको छ। मानिसहरू अत्यधिक दिमाग चलाउँछन्, तर मनलाई चलाउनै भ्याउँदैनन्। इस्लामको प्रार्थनाले मनलाई फेरि घर लाने मार्ग सिकाउँछ। उपवास पनि लेखकले केवल खानाबाट टाढा रहने अभ्यास नभई—आत्मानुशासन, आत्मनिरीक्षण, कृतज्ञता र सामाजिक संवेदना विकसित गर्ने साधनका रूपमा वर्णन गर्छन्। आधुनिक मनोविज्ञानले जुन mindfulness, emotional regulation / delayed gratification सिकाउँछ—इस्लामले यो अभ्यास सदियौंपूर्व दैनिक जीवनमै स्थापित गरिदिएको थियो।
पुस्तकको अर्को मन छुने कुरा—इस्लामले सामाजिक न्यायलाई केन्द्रमा राखेको सत्य हो। विशेषगरी महिलाहरू, गरीबहरू, दासहरू, उत्पीडित वर्ग, अनाथ—यी सबैलाई इज्जत दिएर समान मानवका रूपमा हेर्ने साहस इस्लामले दिएको थियो। मध्ययुगीन समाजमा महिलालाई स्वतन्त्रता, सम्पत्ति अधिकार, शिक्षा र सम्मानजनक जीवनको अधिकार दिनु आफैंमा क्रान्तिकारी काम थियो। आज पनि हामी थुप्रै समाजहरूमा लिङ्गअसमानता, जातीय विभाजन, आर्थिक शोषण देख्छौं। पुस्तकले स्मरण गराउँछ—धर्मको उद्देश्य जटिल सिद्धान्तहरू होइन, मानिसलाई समान र गरिमामय बनाउनु हो। इस्लाम यही मानवीय मिशनसहित आएको थियो।
विश्व राजनीतिको आजको तनावपूर्ण वातावरणमा लेखकले युद्ध र शान्तिबारे इस्लामी दृष्टिकोण प्रस्तुत गरेको अंश अत्यन्त सान्दर्भिक लाग्छ। इस्लाममा युद्ध कुनै विजय–लालसा होइन, न त शासन कब्जा गर्ने साधन; यो केवल आत्म–रक्षा (self–defense) को अन्तिम उपाय हो। निर्दोष, धर्मस्थल, बालबालिका, वृद्ध, महिलाहरू—युद्धमा कसैले छुन नहुने श्रेणीमा परेका छन् भन्ने कुरआनले स्पष्ट निर्देश गरेको छ। यो दृष्टिकोणले आजको युगमा हिंसाको नाममा धर्मको दुरुपयोग रोक्न ठोस बौद्धिक आधार दिन्छ।
किताबको आर्थिक दर्शन पढ्दा झन् अचम्म लाग्छ—कसरी आधुनिक अर्थशास्त्रको दिगो विकास, आर्थिक न्याय, धन–वितरण, सामाजिक सुरक्षा, ब्याज नियन्त्रण, सामूहिक हितजस्ता सिद्धान्तहरू हजार वर्षअघिको धार्मिक शिक्षासँग तालमेल मिल्छन् ! आज विश्वमा धनी अझ धनी, गरिब अझ गरिब बन्दै गरेका छन्। इस्लामले भने सम्पत्तिलाई केवल एकको हातमा केन्द्रित गर्नुभन्दा समाजका कमजोर व्यक्तिहरूको जीवन उठाउन प्रयोग गर्नुपर्ने बताउँछ। श्बपबत कुनै दयाभाव होइन—यो मानव समाजमा समान अवसर बनाउने आर्थिक नीतिको नैतिक आधार हो।
जब पुस्तक बन्द हुन्छ, मन खुल्छ। यसले इस्लामलाई कुनै कठोर प्रणाली होइन, जीवनका घाउ निको पार्ने औषधि जस्तै देखाउँछ। यसले मानिसलाई आफूभित्रको प्रकाश खोज्न सिकाउँछ। हाम्रो समय—जुन द्वन्द्व, राजनीतिक विभाजन, धार्मिक तनाव, सांस्कृतिक टकरावले भरिएको छ—यस्ता समयका लागि यो पुस्तक एउटा गहिरो सन्देश दिन्छः भिन्नताभन्दा ठूलो कुरा मानवता हो, आध्यात्मिकता हो, परस्पर सम्मान हो।
इस्लाम केवल अरबी समाजको लागि आएको संदेश होइन; यो आधुनिक मानिसलाई फेरि मानवीय बन्न सिकाउने एक दर्पण हो। यसले भन्छ—यदि मन शान्त छैन भने बाहिरको संसार कति चम्किलो छ भन्ने कुनै अर्थ राख्दैन।
धर्मले युद्ध होइन, मन–मनबीच पक्का पुल बनाउँछ।
इस्लामको अर्थ यही हो—शान्ति, सत्य, न्याय र प्रेम।
यसैले IslamM Its Meaning for Modern Man बल आज पनि एक पुस्तक मात्र होइन—मानव आत्माको पुनर्जागरणको दस्तावेज जस्तै लाग्छ।

प्रतिक्रिया