पहिलोपटक स्मार्ट बोर्ड शैक्षिक सहकार्य कार्यक्रम सुरु, अब काठमाडौंका कक्षा तनहुँका ग्रामीण विद्यालयमा प्रत्यक्ष रुपमा


तनहुँ । तनहुँका ६ वटा सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा विस्तार गर्न ‘स्मार्ट बोर्ड शैक्षिक सहकार्य कार्यक्रम’ सुरु गरिएको छ । इन्जिनियर श्रीराम न्यौपानेको भिजन टु एक्सन प्लान(Vision to Aciton Plan) अन्तर्गत सुरु गरिएको यस कार्यक्रममार्फत काठमाडौंका प्रतिष्ठित विद्यालयका गुणस्तरीय कक्षाहरू अब तनहुँका विद्यार्थीहरूले प्रत्यक्ष, अनलाइन तथा अफलाइन माध्यमबाट हेर्न र सिक्न पाउने भएका छन् ।


कार्यक्रमको पहिलो चरणअन्तर्गत व्यास, म्याग्दे, शुक्ला गण्डकी, रिसिङ, घिरिङ र भिमादका ६ विद्यालयमा ६५–इन्च क्षमताका स्मार्ट बोर्ड जडान गरी हस्तान्तरण गरिएको छ । यसै क्रममा काठमाडौंको कलंकी स्थित एलआरआइ विद्यालयबाट सञ्चालन भएको एक घण्टाको लाइभ कक्षा थर्पुको मीन माध्यमिक विद्यालयमा सफलतापूर्वक सञ्चालन गरिएको छ । स्मार्ट बोर्डको प्राविधिक सञ्चालन र कक्षाकोठामा यसको उपयोगबारे सम्बन्धित विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, कम्प्युटर शिक्षकलगायतलाई जानकारी समेत दिइएको छ ।


इन्जिनियर न्यौपानेले ग्रामीण भेगका विद्यार्थीलाई राजधानीका अनुभवी शिक्षकसँग जोड्ने उद्देश्यले कार्यक्रमलाई अघि बढाइएको बताए । उनका अनुसार स्मार्ट बोर्डमार्फत नेपाली, सामाजिक, अंग्रेजी, गणित र विज्ञान विषयका अनलाइन शैक्षिक सामग्री एक वर्षका लागि निशुल्क उपलब्ध गराइनेछ । काठमाडौंका एलआरआइ, वृहस्पति शिक्षा सदन, लैनचौर स्थित निस्ट लगायतका संस्थासँगको सहकार्यमा तयार गरिएका सामग्रीहरूले ग्रामीण विद्यालयमा गुणस्तरीय शिक्षण प्रक्रिया विस्तार गर्ने अपेक्षा गरिएको छ ।


उनका अनुसार ‘स्मार्ट बोर्ड जडानसहित प्रविधि सामग्री उपलब्ध गराइएप पनि विद्यालयहरूले बिजुली, इन्टरनेट, भौतिक संरचना र आवश्यक जनशक्तिको व्यवस्थापन आफैँ गर्नुपर्नेछ । ग्रामीण र शहरी विद्यालयबीचको अवसरको अन्तरलाई घटाउनु नै हाम्रो प्रमुख उद्देश्य हो ।’ यस अभियानले विद्यार्थी तथा शिक्षकबीच आधुनिक सिकाइ र सिकाउने शैली विकास गराउने, समुदायमा प्रविधिमैत्री सोच बढाउने तथा नेपालभर विस्तार गर्न सकिने उदाहरणीय मोडेल बन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको पहिलो चरणमा स्मार्ट बोर्ड प्राप्त गर्ने विद्यालयहरूमा रिसिङ–८ को श्री शिव सरस्वती माध्यमिक विद्यालय, घिरिङ–५ को श्री सरस्वती माध्यमिक विद्यालय, म्याग्दे–४ को श्री मीन माध्यमिक विद्यालय, शुक्लागण्डकी–४ को श्री पञ्चमुनिदेव माध्यमिक विद्यालय, व्यास–५ को श्री जनजुक्त शाही माध्यमिक विद्यालय र भिमाद–१ को श्री सिद्धार्थ माध्यमिक विद्यालय रहेका छन् । प्रत्येक विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरूले आधुनिक शिक्षण उपकरण ग्रामीण क्षेत्रमै उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमले विद्यार्थीको सिकाइस्तर वृद्धि गर्न महत्वपुर्ण भूमिका खेल्ने विश्वास रहेको बताएका छन् ।

मुलुकमा नै पहिलोपटक तनहुँबाट सुरु भएको यो प्रविधिमूलक पहलले देशको सम्पूर्ण शिक्षण प्रणालीलाई आधुनिक, दिगो र समान अवसर प्रदान गर्न सकिन प्रयासका रुपमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । इन्जिनियर न्यौपानेले ‘ग्रामीण विद्यार्थीलाई राजधानीका विद्यार्थी बराबर प्रतिस्पर्धी बनाउने’ लक्ष्यसहित आगामी दिनमा कार्यक्रमलाई अन्य विद्यालय र जिल्लाहरुमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।