म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ


काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

व्यवसाय सम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्युरो चलाएको पाइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।

उनका अनुसार, विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले चार जनालाई पक्राउ गरेको हो।

शुक्रबार साँझ पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको तिवारीले जानकारी दिए। उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको आरोप छ।

उनीहरूले विवाहका लागि केही महिलालाई चीनसमेत पठाइसकेको खुल्न आएको तिवारीले बताए। पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेका छन्।

त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा नेपाल आउजाउ गरेको पाइएको पनि विभागले जनाएको छ।