रेडियो चोरेको अभियोगमा स्याङ्जाका ७० वर्षीय वृद्ध ४७ वर्षपछि पुगे जेल


काठमाडौं । रेडियो चोरीको अभियोगमा स्याङ्जाका ४७ वर्षपछि ७० वर्षीय एक वृद्ध अहिले जेल पुगेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना ४७ वर्षपछि जेल पुगेका हुन् ।

२०३५ सालमा छिमेकीको रेडियो र सुनका गहना चोरी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा परेको थियो । लालबहादुरले छिमेकी दिलबहादुर रानाको घरबाट रेडियो र सुनका गहना चोरी गर्दा उनी २३ वर्षका मात्र थिए ।

त्यही कसूरमा उनीविरुद्ध चोरी मुद्दा दर्ता भएको थियो । सुरुवातमा आफूविरुद्ध मुद्दा परेको थाहा पाएका लालबहादुरले त्यो मुद्दाबाट अहिले यस्तो होल भन्ने सोचेका थिएनन् ।

तर, स्याङ्जा जिल्ला अदालतले मुद्दा दर्ता भएको १० वर्षपछि २०४५ मंसिर १६ गते उनलाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यही फैसला कार्यान्वयनका क्रममा प्रहरीले ४७ वर्षपछि उनलाई कात्तिक १७ गते पक्राउ गरेको हो । पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालतले थुनाका लागि कारागार चलान गरेको छ ।