पार्टीमा एकताको पक्षमा एक ढिक्का छौं, जनार्दनजी पनि आउनुहुन्छः प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता जनार्दन शर्माको शैली राम्रो नभएको बताएका छन् ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले बैठक सहज रूपमा सुरु हुँदा आफ्नो धारणा राखेर बाहिरिने शर्माको शैली राम्रो नभएको बताएका हुन् ।

शर्मा बैठकमा नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल स्थगित गर्ने प्रस्ताव राखेर बैठकबाट बाहिरिएका थिए । प्रचण्डले पार्टी नेतृत्वविरुद्ध शर्माले लगाएको आरोप अराजक भएको टिप्पणी गरे ।

प्रचण्डले भने, ‘बसौँ भन्दाभन्दै उहाँ निस्कनुभयो । आफ्ना कुरा राख्ने र अरुका कुरा नसुन्ने उहाँको शैली ठिक थिएन।’ प्रचण्डले पार्टीमा एकताको पक्षमा एकढिक्का रहेको बताए ।

उनले भने, ‘अहिले पार्टीमा एकताको पक्षमा एक ढिक्का छौं । १७ गतेको बैठकसम्ममा जनार्दन पनि एक ढिक्क रहनुहुनेछ ।’