श्रेष्ठ ग्लोबल आइकन अवार्डबाट सुशोभित हुँदै


काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलका निर्देशक रजत कृष्ण श्रेष्ठले मलेसियामा हुने इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ मा ग्लोबल आइकन अवार्ड प्राप्त गर्ने भएका छन्।

उक्त अवार्ड कार्यक्रम आगामी अक्टोबर १४, २०२५ मा मलेसियाको क्वालालम्पुरमा आयोजना हुनेछ। आयोजक संस्था अप्टिमेज ग्लोबलले श्रेष्ठलाई आधिकारिक निमन्त्रणा पत्र पठाउँदै स्वास्थ्य क्षेत्र र सामाजिक योगदानका लागि यो अवार्ड दिने घोषणा गरेको हो।

निमन्त्रणा पत्रमा भनिएको छ, ‘श्रेष्ठले स्वास्थ्य क्षेत्रमा गरेको नेतृत्व, महिला सशक्तिकरणप्रति उठाएको आवाज, तनाव व्यवस्थापन, जीवन दर्शन र युवाहरुमा उत्प्रेरणाका लागि गरेको योगदानले उहाँलाई अन्तर्राष्ट्रिय स्तरमा प्रेरणादायी व्यक्तित्व बनाएको छ।’

श्रेष्ठ खेलाडी, लेखक, मोटिभेशनल स्पिकरदेखि लिएर अग्रणी अस्पताल र औषधि व्यवसाय समेतलाई अघि बढाउँदै सफल व्यवसायिक यात्रा अघि बढाउँदै आएका छन्। आयोजकका अनुसार उनले समुदायको उत्थानप्रति गरेको समर्पण, व्यक्तिलाई सशक्त बनाउन गरेका प्रयासहरु र स्वस्थ समाज निर्माणमा पुर्‍याएको योगदानले विश्वभरका लागि अनुकरणीय मानक स्थापित गरेको छ।

कार्यक्रममा विश्वभरबाट सफल व्यवसायी, समाजसेवी, नवप्रवर्तक र परिवर्तनकारी व्यक्तित्वहरू सहभागी हुनेछन्। उक्त अवसरमा रजत श्रेष्ठले आफ्नो योगदानका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय तवरबाट यस्ता अवार्ड पाउनु समाज सेवामा अग्रसर हुनेहरूका लागि थप ऊर्जा दिने विषय भएको शुभेच्छुकहरूले बताएका छन्।