फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय


धनगढी । हरेका सहरमा चुनौती बनेको फोहोर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ ।

धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहोर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहोरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

धनगढी उपमहानरपालिकाका प्रमुख गोपी हमालले सरसफाइलाई पालिकाको गौरवको योजनाका रूपमा अगाडि बढाएको बताए । ‘सडक, पुल, भवन नभई हाम्रो गौरवको योजना फोहोर व्यवस्थापन र सरसफाइ हो’, उनले भने, ‘स्थानीय तहको कम प्राथमिकतामा पर्दै आएको फोहोर व्यवस्थानलाई हामीले पहिलो प्राथमिकता दिएका छौं, त्यहीअनुसार वार्षिक बजेट र कार्यक्रम तय गरिएको छ ।’

उनले व्यक्ति र समुदायलाई फोहोर नगर्ने बानीको विकास गर्न सकिएमा फोहोर व्यवस्थापनमा देखिएको जटिलता कम हुने बताए । नगरप्रमुख हमालले प्लास्टिकजन्य फोहोर फैलन नदिन गु्ट्खालगायत एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकलाई प्रतिबन्ध लगाइएको बताए ।

उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले फोहोरबाट बायो ग्यास उत्पादनदेखि फोहोर प्रशोधन गरेर विभन्न वस्तु उत्पादन गर्ने तयारी भइरहेको बताए ।

पञ्चानब्बे प्रतिशत फोहोर घरघरबाटै वर्गीकरण भएर आउने गरेको उनले जानकारी दिए । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बेग्लै संरचना बनाएर काम सुरू गरिएको अधिकृत अवस्थीले बताए । फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र पनि सञ्चालनमा छ ।

निजी क्षेत्रसँगको सहकार्यमा समुदाय, विद्यालयगायत सामाजिक सङ्घसंस्थालाई पनि फोहोर व्यवस्थापनमा परिचालन गरिएको छ । पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ योजनामार्फत हरित रोजगारी सृजना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले उक्त परियोजनाबारे जानकारी गराएका थिए ।

फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेका स्थानीय तहहरूबीच सीप र अनुभव आदानप्रदान गर्न अवलोकन भ्रमणको आयोजना गरिएको उनले बताए । अवलोकन भ्रमणमा पोखरा महानगरपालिकाका कर्मचारी, परियोजनाका कर्मचारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

पोखरा महानगरपालिकाले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरेको छ ।

परियोजनामार्फत प्रयोग गर्ने र फाल्ने अभ्यासको सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ उद्योग स्थापनामा जोड दिइएको छ ।

हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहोरमैलाबाट सृजना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणमा टेवा पुग्ने विश्वास छ ।

परियोजनाले फोहोर सङ्कलन, ढुवानी र वर्गीकरणका लागि समुदायमा सचेतना अभियान पनि सञ्चालन गर्दै आएको सहजकर्ता तिमिल्सिनाले बताए । परियोजनाले पोखराका एक सय ३६ वटा टोलमा अभियान सञ्चालन गर्दै आएको छ ।