टोकियो । प्रखर कथावाचिका राधिका दासी यही हप्ता जापान आउँदै छिन्। जापान नेपाल फुटबल एसोसिएसन (एन्फा जापान) को आयोजनामा हुन लागेको धार्मिक तथा आध्यात्मिक प्रवचनमा सहभागी हुन उनले जापान यात्रा गर्ने भएकी हुन्।
कार्यक्रमअनुसार, राधिका दासीले सेप्टेम्बर ७ (आइतबार) साँझ ५ बजेदेखि १० बजेसम्म टोकियो नजिकै रहेको रारा नेपाली खाजा घर (हाइजिमा) मा प्रवचन गर्नेछिन्। त्यस्तै, सेप्टेम्बर ९ (मङ्गलबार) साँझ ५ बजेदेखि १० बजेसम्म प्रिमो हल (१-११-५ मिदोरी गाओका, हामुरा स्टेसन नजिकै) मा प्रवचन हुने कार्यक्रम तय भएको आयोजक संस्थाले जनाएको छ।
पछिल्लो समय देश–विदेशमा महायज्ञ तथा धार्मिक कार्यक्रमहरूमा व्यस्त राधिका दासीले टोकियो प्रवासमा हुने यस कार्यक्रमका लागि भिडियो सन्देशमार्फत सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आह्वान गरेकी छिन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जापानका लागि नेपाली राजदूत महामहिम दुर्गा बहादुर सुवेदी रहनेछन्। आयोजक एन्फा जापानका अध्यक्ष शिव खड्काका अनुसार यो आध्यात्मिक प्रवचनले जापानमा रहेका नेपाली समुदायलाई धर्म, संस्कृति र अध्यात्मसँग नजिक ल्याउने तथा सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसैबीच टोकियोमा कार्यक्रम सम्पन्न गरेपछि राधिका दासी जापानकै फुकुओका सहर प्रस्थान गर्नेछिन्। उनलाई त्यहाँको बिष्णु रेष्टुरेन्टका प्रोपाइटर श्यामसुन्दर शर्माले विशेष निमन्त्रण गरेका छन्।

प्रतिक्रिया