तीजमा उमंग, ब्लुक्रस अस्पतालका स्वास्थ्यकर्मीको उत्साह र ऊर्जाको नयाँ संचार


काठमाडौं । हरितालिका तीजको अवसरमा ब्लुक्रस अस्पतालले महिला स्वास्थ्यकर्मीहरुको सहभागितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। तीजलाई हिन्दू संस्कृति र आस्थासँगसँगै कर्मचारीमा कार्यउत्साह र सामूहिक भावना वृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका अस्पताल सञ्चालक समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले महिला स्वास्थ्यकर्मीलाई यस्ता धार्मिक-सांस्कृतिक कार्यक्रममा सहभागी गराउँदा कार्यक्षेत्रमा ऊर्जा थपिने, सेवाग्राहीप्रति अझ आदरभावसहित सेवा पुर्‍याउन प्रेरणा मिल्ने बताएका छन्। उनका अनुसार यसले संस्थाको दीर्घकालीन उद्देश्य प्राप्तिमा पनि टेवा पुग्नेछ।

अस्पतालले प्रत्येक वर्ष तीजलगायत अन्य पर्वका अवसरमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्ने गरेको छ। यसले कर्मचारीबीच सहकार्य र उत्साह बढ्ने मात्र नभई समाजमा सकारात्मक सन्देश जाने अस्पतालको विश्वास छ।

काठमाडौंको केन्द्रमा अवस्थित ब्लुक्रस अस्पतालले स्थापनाकालदेखि नै विविध स्वास्थ्य सेवा, दक्ष चिकित्सक टोली र आधुनिक प्रविधिसहित बिरामीको सेवामा निरन्तर तत्पर रहँदै आएको छ। साथै सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले विभिन्न सहयोगी अभियान सञ्चालन गर्दै आएको जनाएको छ।