काठमाडौं । हरितालिका तीजको पूर्वसन्ध्यामा खस क्षत्री एकता समाज नेपाल केन्द्रीय समिति र नागार्जुन नगरपालिका वडा समिति–१ को संयुक्त आयोजनामा राजधानीमा तीज सांस्कृतिक कार्यक्रम तथा ‘दर’ खुवाउने कार्यक्रम सम्पन्न भयो।
वडा समिति अध्यक्ष प्रल्हाद सुबेदीको अध्यक्षता र केन्द्रीय अध्यक्ष जितबहादुर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सन्तबहादुर बस्नेतले प्रस्तुत गरे भने कार्यक्रमको सञ्चालन ध्रुव खड्काले गरे। कार्यक्रममा हालै सर्वोच्च अदालतको वैतनिक कानून व्यवसायीमा नियुक्त भएकी संस्थाकी महिला उपाध्यक्ष लक्ष्मीनानी थापालाई विशेष सम्मान गरिएको छ भने शेरजंगबहादुर बस्नेत र यशोदा दाहाललाई आजीवन सदस्यता प्रदान गरिएको छ ।
संस्थाले हिन्दू महिलाको महान् चाड तीजलगायत बैसाख पूर्णिमा, जनैपूर्णिमा, घटस्थापना, पृथ्वी जयन्ती र हनुमान जयन्तीलाई प्रत्येक वर्ष पर्वका रूपमा मनाउने लक्ष्य लिएको जनाएको छ ।
हनुमान जयन्तीलाई स्थापना दिवसका रूपमा घोषणा गर्दै गठन भएको खस क्षत्री एकता समाज नेपालको नेतृत्व पूर्व प्रशासक एवं समाजसेवी जितबहादुर घिमिरेले गरिरहेका छन्। उनी अध्यक्ष रहेको १७ सदस्यीय तदर्थ समितिबाट संस्थाले प्रारम्भिक क्रियाकलाप अघि बढाएको हो।
हालसम्म वडा, पालिका, जिल्ला र केन्द्रीय संरचना विस्तार गर्दै करिब ६० लाख क्षत्रीहरूको हकहितमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ।कार्यक्रममा अध्यक्ष घिमिरेले राज्य, समाज र नागरिकबीचको सम्बन्धलाई सुदृढ गर्दै विधिसम्मत, उत्तरदायी र व्यवहारिक ढंगले समुदायमा उपस्थित हुने संस्थाको लक्ष्य प्रस्तुत गरे। उनले भने, ‘समुदायको रक्षा र देशको समग्र हितका लागि खोलिएका संस्थाहरू धेरै छन्, तर साझा कार्यदिशा र प्रभावकारी संयोजन नहुँदा शक्ति खेर गइरहेको छ। अब हामी विभाजन होइन, एकताबाट बलियो संस्था बनाउने तयारीमा छौं।’

प्रतिक्रिया