काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने धारणा राखेका थिए ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले बिहीबार पोखरामा आयोजना गरेको ‘वैचारिक तथा राजनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरिनसकेको बताए ।
“मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ । समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नुपर्दछ”, अध्यक्ष दाहालले भने । समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, “सम्भव भएसम्म समाजवादीहरूको एकता होस् भन्ने चाहना छ । समाजवादी जतिको एउटै केन्द्र बनाएर विशाल शक्ति बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । समाजवादी क्रान्तिको रणनीतिलाई नेपाली मौलिकता र नेपाली नेतृत्वमा नयाँ ढङ्गले अघि बढाउने उद्देश्य छ ।”
अध्यक्ष दाहालले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेता कार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले स्थायी समिति बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरे । उनले पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने उल्लेख गरे।
“पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारबाही गरिनेछ । स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो । पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन”, अध्यक्ष दाहालले भने । आसन्न केन्द्रीय समिति बैठकपछि गाउँ गाउँमा सङ्गठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिइने जानकारी दिए ।

प्रतिक्रिया