बागलुङ । बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा अब्बल बनेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा नगरपालिका उत्कृष्ट बनेको हो ।
यसअघि स्थानीय तहको समग्र पक्षको मूल्यांकन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकासको प्रवर्द्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्यांकनमा नगरपालिका अब्बल बनेको हो ।
“औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेश स्तरमै पुरस्कृत बन्ने भएको छ ” महाशाखा कँडेलले भने, “सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनाउन सकेको छ ।”
तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्यांकन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरूपतामा हेर्ने गर्छ । जस अनुसार ५ शीर्षकमा दुई दर्जन बढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्यांकन गर्न थालेको हो ।
सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत् व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्यांकन गर्न सुरु भएको उनले बताए।
तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टि नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले जानकारी दिए । मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको उनले बताए ।
उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए । त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट ’बनाउनेसमेत उनले बताए ।
उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवर्द्धन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भइरहेको जानकारी दिए। सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्ने गरी योजना तर्जुमासमेत भएको उनले बताए ।

प्रतिक्रिया