झापाको निन्दा नदीमा झोलुङ्गे पुल निर्माण


झापा । मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल तीन सय ५० मिटर लामो र पाँच फिट चौडाइको रहेको छ । पुलले उक्त वडाको सदरमुकाम विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।

उक्त स्थानमा कुनै पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा रहेको पूर्वपश्चिम राजमार्ग वा त्यति नै दुरीमा रहेको भद्रपुरको घुमाउरो बाटो धाउन बाध्य थिए ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७९ असारमा सम्झौता भएको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले २०७९ मङ्सिर १० गते उक्त पुलको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

बजेट सुनिश्चित नहुँदा पुल निर्माण हुन सकेको थिएन । बजेट सुनिश्चिततासहित २०८२ पुस २६ गतेसम्ममा निर्माण गरिसक्ने गरी एक वर्ष म्याद थपेर पुल निर्माणको काम अघि बढेको थियो ।

थानी कन्स्ट्रक्सन प्रालिका ईन्जिनियर शेखर रायमाझीले पुल निर्माण कार्य सम्पन्न भएको बताए। झापा निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद विश्वप्रकाश शर्माले निन्दा नदी वारीपारिका जनताको वर्षौँदेखिको पुलबाट सुरक्षित आवतजावत गर्ने चाहना बल्ल पूरा भएको बताए।