अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?


अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ ।

भौतिक जगतको जीवन राजमार्ग जस्ताे हो  भने अध्यात्मको मार्ग जंगलको गोरेटो जस्तो हो । सडक हाम्रो घरछेऊ भएर जान्छ । सानैबाट हामी सडकसँग यति परिचित हुन्छौँ कि सडकमा यात्रा गर्न कसैले सिकाउनु पर्दैन । विशेष गरि जंगलको बाटो हाम्रै घरअगाडि हुँदैन । एउटा समयसम्म जंगलकाे बाटो हाम्रो लागि नौलो कुरा हो ।  जंगलको यात्राका लागि यात्रुले केहि तयारी गर्नुपर्छ । केहि कुराको विशेष जानकारी लिनुपर्छ । त्यसैले जंगलमा हिड्न अभ्यस्त बन्नका लागि कसैसँग केही सिक्नु जरुरी पर्छ ।
राजमार्गमा धेरै मानिसहरू यात्रा गरिरहेका हुन्छन् । अरू यात्रिहरूलाई देखेर हामीमा हराउँदिन भन्ने विश्वास जाग्छ । ठीक बाटोमा हिँड्दैछु भन्ने विश्वास हुन्छ । बाटोमा कति किलोमिटर यात्रा गरियो ? कति किलोमिटर यात्रा गर्नपर्ने ? कुन बाटो भएर यात्रा गर्नुपर्ने सूचनाहरू हुन्छन् । बाटोभरी खाना बस्नको सुविधा समेत हुन्छ । हामीले बाटो चिन्नु पनि पर्दैन, सावारी साधनले भनेको स्थानमा पुर्याइदिन्छ । अर्थात सडकमा भीड छ, सुरक्षा छ, निर्घक्कता र निश्चितता छ । सडकको यात्रामा हाम्रो काम केवल यात्रा गर्नु मात्रै हो । यात्राले हामीसँग केहि विशेष प्रयत्न माग्दैन । एक प्रकारले सडकको यात्रा निर्जिव छ ।
जंगलमा अन्य यात्रीहरू देखिँदैनन् वा आकलझुकल मात्र देखिन्छन् । अनेक ठाउँमा झारहरूले छोपिएर बाटो देखिँदैन । हामीलाई केवल पुग्नुपर्ने ठाउँको बारेमा जानकारी मात्रै हुन्छ । कति समय लाग्छ थाहा हुँदैन । हराउँछु कि भन्ने डर हुन्छ । फर्कने बाटो पनि थाहा हुँदैन । हिडेको बाटो गलत वा ठिक हो भन्ने पनि थाहा हुँदैन । जंगलमा भोको अवस्था पर्न सक्छ । ज्यानै जाने प्यास लाग्नसक्छ । निदाउने डर पनि त्यत्तिकै रहन्छ । जंगली जनावरले हमला गर्न सक्ने डर हुन्छ । अर्थात जंगलमा एक्लो र निरीह महशुस हुन्छ । जंगलमा असुरक्षा, डर र अनिश्चितता छ । जंगलको यात्रामा हामीले यात्रामा मात्रै होइन स्वयंको जीवन रक्षा गर्नुपर्छ । जंगलको यात्राले विशेष प्रयत्नको माग गर्छ । त्यसैले जंगलको यात्रामा जीवन छ । त्यसैले जंगलमा हिँड्न कोहि जान्ने मानिसको निर्देशन चाहिन्छ । त्यसाे हुन नसकेमा जंगलमा यात्रीले आफ्नो जीवन रक्षा गर्न नसक्ने हुनसक्छ ।
वास्तवमा सडक र जगंलको यात्राको अन्तर्निहित उद्देश्य फरक छ । सडकको यात्रा कुनै स्थान विशेषमा पुग्नका लागि मात्रै केन्द्रित छ । तर जंगलको यात्रामा स्थान विशेषमा पुग्ने कुरा गौण हो । मूल मुद्दा यात्रीको रूपान्तरण हो । जंगलमा प्रवेश गर्दाको मानिस र यात्रामा अभ्यस्त भइसकेको मानिस बीच निकै ठूलाे रूपान्तरण भइसकेको हुन्छ ।
सडक र जंगलको यात्रामा भिन्नता भएझैँ, अध्यात्मको यात्रामा मार्गदर्शकका रूपमा गुरुकाे आवश्यकता पर्दछ । जंगलको यात्रामा आत्मनियमन चाहिँएको झैँ, अध्यात्मको यात्रामा शील पालना गर्नुपर्छ । सडककाे यात्राझैँ भौतिक जीवनमा कुनै कुरा प्राप्तिको उद्देश्य हुन्छ तर जंगलको यात्राझैँ अध्यात्म जीवनको उद्देश्य केवल स्वयंको रूपान्तरण हो । अनि अध्यात्मको यात्रामा जंगलको यात्राझैँ एकै, असुरक्षीत र अनिश्चित भएर अगाडि बढ्नुपर्ने भएको हुनाले मार्गनिर्देशक गुरुप्रति श्रद्धा हुनुपर्छ ।

अहंकार अन्त्यका लागि गुरुको भूमिका
अहंकारको अर्थ आफ्नो बारेमा आफैँले बनाएको धारणा हो । बाँकी दुनियाँभन्दा ‘म’ यसकारण फरक हुँ भन्नका लागि बाँकि दुनियाँ र स्वयं बीच सीमाना खिच्नुपर्छ । त्यहि सीमानाका कारण मानिसमा ‘म’ र ‘मेरो’ भन्ने भाव छ । यस्तो स्वयं प्रतिको आशक्ति नै समूल दुःखको कारण हो । अनि अहंकार विलीन हुनुको अर्थ स्वयंको स्वतन्त्र अस्तित्व नदेखि समग्र अस्तित्वसँग एकाकार हुनु हो । यहि नै चरम आनन्दकाे अवस्था हो । अहंकार समर्पणमा होइन अतिक्रमणमा रमाउँछ । अरू माथिको दमनमा रमाउँछ । समर्पणमा मानिसको अहंकारलाई चोट पुग्छ । कसैलाई गुरु मान्नुको अर्थ स्वयंलाई गुरुको चरणमा समर्पित गर्नु हो । कसैको अगाडि श्रद्धापूर्वक शिर झुकाइन्छ भने त्यहा अहंकार रहँदैन । मानिसको जीवनमा गुरुको आवश्यकता यसकारण छ कि गुरु त्यो व्यक्तित्व हो जो हाम्रो अहंकार बिलय गराउने कर्ममा सहायक हुनुहुन्छ ।
भौतिक संसारमा मानिस भन्नु केवल उसको अहंकार हो । त्यसैले जुन दिन हाम्रो अहंकार मर्नेछ हामी पुरानो मानिस नरहेर अर्कै मानिसमा परिणत हुनेछौं । अहंकार नरहे यहि चोलामा विशेष मानिसका रूपमा हाम्रो पुर्नजन्म हुनेछ । यसकारण भौतिक जगतमा जन्म दिने मातापिता भन्दा अध्यात्मको जगतमा पुनर्जन्म दिने गुरु अझै विशेष मान्ने गरिन्छ ।

गुरू चेलाको सम्बन्ध; प्रेम र श्रद्धाको सम्बन्ध
जहाँ अहंकार हुन्छ, त्यहाँ प्रेमको अस्तित्व हुँदैन । अहंकारको अर्थ मनोवैज्ञानिक रूपमा स्वकेन्द्रित हुनु हो । तर प्रेममा केन्द्र आफु नभएर प्रेम गरिएको मानिस हुन्छ । सच्चा गुरु अहंकार विहीन हुन्छ । तसर्थ उहाँ अरुप्रति प्रेमपूर्ण हुन सक्नुहुन्छ । अनि प्रेमको सन्दर्भमा दुई पक्ष हुन्छन् । प्रेम गर्ने र गरिएको प्रेमलाई स्वीकार गर्ने । सच्चा प्रेमका लागि स्वयंकाे मानस पवित्र हुनुपर्छ । निस्वार्थ प्रेम सजिलो कर्म होइन । अनि प्रेम गर्नु जस्तै प्रेमलाई स्वीकार्नु पनि सजिलो छैन । प्रेम स्वीकार्नुकाे अर्थ हो कुनै अर्कोलाई तपाइँले आफ्नो जीवनमा सम्पूर्ण रूपमा आमन्त्रण गर्नु । अहंकार मानिस-मानिस बीचको मनोवैज्ञानिक पर्खाल हो । अर्को मानिसलाई सम्पूर्ण रूपमा स्वीकार गर्दाकाे अवस्थामा पनि अहंकारलाई चोट पुग्छ । गुरु र चेलाको सम्बन्धमा गुरुले दिएको प्रेम यदि चेलाचेलीले स्वीकार गर्दैनन् भने त्यो सम्बन्ध नै रहँदैन, तसर्थ गुरु र चेलाचेलीको सम्बन्ध प्रेमको सम्बन्ध हो ।
गुरुको मनमा चेलाचेलीप्रति प्रेमको भाव भएको जस्तै चेलीचेलीको मनमा भने गुरु प्रति श्रद्धा हुनुपर्छ । श्रद्धाको सन्दर्भमा केहि बुझ्नु जरूरी छ । श्रद्धा सामान्य आस्था वा विश्वास होइन । आस्था र श्रद्धामा केहि भिन्नता छ । हामीले जब कसैको परिक्षण बीना अन्धभक्त हुन्छौं भने त्यो आस्था हो । जस्तै हिन्दु सम्प्रदायका मानिसले गाईलाई माता मान्ने गर्दछन्, त्यो उनीहरुकाे आस्था हो तर कुनै मानिसले गाईलाई माता मान्ने सन्दर्भमा शंका गरि विभिन्न परिक्षणहरूबाट गाईको दुध आमाकाे दुध जत्तिकै पोषणयुक्त हुन्छ । अनि गाईले उसलाई स्याहारसुसार गर्नेप्रति गहिरो प्रेम भाव राख्छ । गाई मानिस जत्तिकै संवेदनशील हुन्छ भन्ने जस्ता निष्कर्शमा पुग्यो भने गाईलाई किन माता मान्ने भन्ने कुराप्रतिको उसको शंका निवारण हुन्छ । यसरी शंका निवारण भइसकेपछि गरिने दृढ विश्वास श्रद्धा हो । आस्थाका भरमा गरिएको विश्वास कुनै पनि बेला भत्कन सक्छ । अझ आस्था प्रतिशोध जस्तो नकारात्मक भावनामा रूपान्तरित हुनसक्छ । तर श्रद्धा कहिल्यै भत्कँदैन । त्यसैले श्रद्धामा समर्पण हुन्छ । श्रद्धा गर्ने चेलाचेलीका लागि गुरु नै संसार हो । गुरु नै भगवान हो । यसको अर्थ गुरु सर्वगुण सम्पन्न हुनुपर्छ भनेको होइन । गुरु जस्तो सुकै होस् त्यसले महत्व कम राख्छ तर गुरुप्रति श्रद्धा चाँहि जबरजस्त हुनु जरुरी हुन्छ । यदि मनको कतै कुनामा गुरुप्रति शंका छ भने हालको गुरु त्यागेर अर्कै गुरुको खोजी गर्नु राम्रो हो ।

गुरुभन्दा गुरुप्रतिको श्रद्धा भाव बढि महत्व हुन्छ
हिन्दुहरू किन निर्जिव मूर्तिलाई पुजा गर्छन् ? यसको अन्तर्निहित विज्ञान छ । अध्यात्मको जगतमा बाहिरी कुराले कम र आफ्नो चित्तको अवस्थाले बढि महत्व राख्छ । साक्षात्र भगवान वा ढुङ्गा होस् त्यसले भन्दा उपासकको समपर्णले महत्व राख्छ । अध्यात्मको मार्गमा सर्मपण छैन भने साक्षात् भगवानको पुजा गरेर केहि हात लाग्दैन तर समपर्णको भाव छ भने ढुङ्गालाई पुजा गर्नु नै आध्यात्मिक रूपान्तणका लागि प्रर्याप्त छ । सरल रुपमा याे विषय बुझ्नका लागि याे कथा सान्दर्भिक छ । एक पटक एउटा गुरुका केहि चेलाहरू थिए । अनि गुरुले अन्य चेलाहरूको कुरा सुनेर एउटा चेलालाई दुःख दिइरहन्थे । कहिले भीरबाट हाम्फाल्न लगाउँथे त कहिले आगोमा बस्न लगाउँथे । कहिले पोखरीमा हिँड्न लगाउँथे । तर बारम्बार यस्ता काम गर्दा नि चेलालाई चोट लाग्नु त परको कुरा उ सधैँ खरो उत्रन्थ्यो । एक दिन गुरुले त्यो चेलालाई सोधेछन्, “भीरबाट फाल हान्दा, आगोमा बस्दा, पोखरीमा हिँड्दा कसरी तिमीलाई केहि पनि हुँदैन ?” चेलाले उत्तर दिएछन्, “किन तपाइँ मलाई जिस्क्याउनु हुन्छ ? यो तपाइँकै कृपा न हो । म तपाइँकाे नामको जप गर्दै यी सबै काम सजिलै गर्छु ।” चेलाको उत्तर सुनेर गुरुले शक्ति त आफुमै भएको मानेर स्वयंको नाम जप्दै पोखरीमा हिँडेछन् र डुबेर मरेछन् । गुरुप्रति चेलाको श्रद्धा बलियो छ भने गुरु जस्तोसुकै होस् त्यो गौण रहन्छ ।
अध्यात्म भन्नु नै आन्तरिक जगत अर्थात शरीर र मनप्रति होसपूर्ण हुनु हो । अध्यात्मका उपलब्धिले बाहिरकाे जगतसँग सरोकार राख्दैनन् । त्यसैले पुजाको अवस्थामा भगवान भन्दा समर्पण नै ठूलो हो । अनि गुरु र चेला सम्बन्धमा गुरु भन्दा श्रद्धा ठूलो हो । त्यसैले भगवान पनि बाहिरी जगतमा होइन आफै भित्र खोज्नुपर्छ भनेको हो ।

जिवित गुरु र भगवानको भक्तिमा के फरक छ ?
हामीले देख्छौं कुनै तीर्थस्थलमा मानिसको भिड हुन्छ । तीर्थकरको जन्म जयन्तिमा त तीर्थस्थलहरूमा झन् खुट्टा टेक्ने ठाँउ नै हुँदैन । तर ति तीर्थकरहरू जिवित हुँदा तिनको अघिपछि केहि सिमित मानिस मात्रै रहन्थे । किन जिवित रहँदाभन्दा मृत्युपश्चात तीर्थकरका अनुनायीको संख्या ह्वात्तै बढ्ने गर्छ ? वास्तवमा जिवित तीर्थकर वा सद्गुरुसँग रहनु खतरापूर्ण हुन्छ । अध्यात्मको जीवन भनेको मानिसको पुर्नजन्म हो । त्यसका लागि भौतिक संसारमा फसेको अहंकारपूर्ण जीवनको उत्सर्ग गर्नैपर्छ । आम मानिसका लागि अहंकार सबथोक हो । त्यसैले उसका लागि अहंकार त्याग्नु निर्कै डरलाग्दो कुरा हो । तर अहंकार परित्यागका सन्दर्भमा गुरुले चेलाको जीवनमा हस्तक्षेप गर्नुहुन्छ । परीक्षा लिनुहुन्छ । ज्ञान दिँदै गर्दा गुरुको सामिप्यमा हामीले सांसारिक जीवन त्याग्नुपर्छ । त्यसैले शुरुका दिनहरूमा चेलाचेलीहरूका निम्ति गुरु डरलाग्दो देखिनुहुन्छ ।
जस्तै एउटा गिलासमा मदिरा छ । तपाइँलाई त्यो मदिरा निकै प्रीय लाग्छ भने तपाइँले त्यो गिलासको मदिरा फाल्न सक्नुहुन्न । मदिराप्रति जति घनिभूत रूपमा आशक्ति हुन्छ त्यति नै मदिर पोखिएला भन्ने डर लाग्छ । तर यदि कसैले तपाइँको गिलासमा अमृत हाल्दिन चाहन्छ भने उक्त मदिरालाई फाल्नैपर्छ नभए गिलासमा अमृत भर्न सकिँदैन । वास्तवमा सांसारिक जीवन मदिरा जस्तै छ । जसले तपाईंलाई होसपूर्ण हुनै दिँदैन । सधैँ बेहोस बनाउँछ । अनि अध्यात्मको रस अमृत समान छ । जसको सेवनले केवल आनन्द मात्रै मिल्छ । तर तपाईंले अमृत चिन्नुभएको छैन भने कसरी मदिरा फाल्न सक्नुहुन्छ ? हो गुरुले तपाईंलाई जीवनको ज्ञान दिनुहुँदा, दिक्षा दिनुहुँदा तपाइँबाट धेरै कुरा छिन्नुहुन्छ, जुन कुराहरू तपाइँका लागि सर्वप्रीय हुनसक्छन् । त्यसैले जिवित गुरु डरलाग्दो हुन्छ । तर मुर्तिले हस्तक्षेप गर्दैन । गुरु र चेलाको सम्बन्धमा गुरुमा अधिकार निहित हुन्छ तर मुर्तिको अगाडि तपाईं स्वतन्त्र हुनुहुन्छ । यस्ता कारणले तीर्थकरहरूको देहावसान पश्चात मानिसले तिनलाई पुजा गर्छन । प्रार्थना गर्छन् । तर सहि तरिकाको हस्तक्षेपबिना आम मानिसमा रूपान्तरण सम्भव हुँदैन । त्यसैले आममानिसका लागि गुरुको आवश्यकता अपरिहार्य हुन्छ ।

लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशिल महेश श्रेष्ठ साधक तथा लेखक हुन् ।