हातमा खबर डट कमका लागि सर्लाहीमा रायलाई जिम्मेवारी


काठमाडौं । मधेस प्रदेश—सामाजिक सेवा, स्वास्थ्य र बीमा क्षेत्रमा झण्डै डेढ दशक लामो अनुभव बोकेका रामबाबु रायले सञ्चारको क्षेत्रमा पाइला अगाडि बढाउँदै छन् ।

अभिसर्ग मिडियाले सर्लाही जिल्लाका लागि संवाददाता तथा प्रतिनिधिको जिम्मेवारी दिँदै स्थानीय समस्या, विकास र शासनका खबरलाई राष्ट्रिय धारमा जोड्ने भरोसा उनीमाथि प्रकट गरेको छ । प्रतिनिधि तथा संवाददाताको जिम्मेवारी पाएका रायले स्थानीय सरकार, जनजीविका, शिक्षा, स्वास्थ्य, नीति–कार्यक्रम तथा सामाजिक चुनौतीहरूका विषयमा तथ्यपरक, जनमुखी र जिम्मेवार रिपोर्टिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘स्थानीय जनताको आवाज र समस्यालाई नजिकबाट बुझेको छु’, उनले भने, ‘अब ती यथार्थलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै नीति निर्माण तहसम्म पुर्याउने छु ।’

अभिसर्ग मिडियाले पत्रकारितामा समर्पण, सेवाभाव र सक्रियता देखाउने युवालाई प्राथमिकतामा राख्दै सशक्त सूचना प्रणाली निर्माण गर्नका लागि यो नियुक्तिलाई महत्वका साथ हेरेको बताएको छ । ‘हामी जिल्ला तहबाट सही सूचना र समर्पित संवाददातामार्फत सूचनाको दायरा फराकिलो बनाउँदै छौं’, अभिसर्ग नेपाल मिडियाका एक पदाधिकारीले भने, ‘स्थानीय प्रतिनिधिको सक्रियता र विश्वसनीयता नै हाम्रो मिडियाको बलियो आधार हो ।’ सर्लाही जिल्लाका जनताको आवाजलाई समेट्दै प्रदेश र केन्द्रसम्म सूचनाको सेतु निर्माण गर्ने उद्देश्यसहित रायलाई जिम्मेवारी दिइएको हो ।

स्थानीय मुद्दा, जनजीवन, विकास, अवसर र चुनौतीहरूमाथि प्रकाश पार्ने अपेक्षासहित सञ्चार क्षेत्रमा प्रवेश गरेका रायजस्ता प्रतिनिधिहरूको सक्रियताले स्थानीय पत्रकारितामा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ ।