धनुषाको विदेहमा नवनिर्मित विद्यालय भवन उद्घाटन


धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ मुरिबामा प्लान इन्टरनेशनल जापानको आर्थिक सहयोग, विदेह नगरपालिकाको समन्वय र असमान नेपालको सहकार्यमा राष्ट्रिय आधारभूत विद्यालयको दुईतले चारकोठे भवन निर्माण सम्पन्न भएको छ ।

उक्त भवनको उद्घाटन मंगलबार भव्य समारोहका बीच सम्पन्न भई विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । कार्यक्रम प्रमुख अतिथि नेपालका लागि जापानी राजदूत थिए ।

त्यस्तै विशेष अतिथिहरूमा विदेह नगरपालिकाका नगरप्रमुख बेचन दास, उपप्रमुख आशा देवी झा, प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, वडा नम्बर ५ का वडाध्यक्ष राधेश्याम गोइत, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, गाउँका बुद्धिजीवी, युवा, विद्यार्थी, प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि र असमान नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यो नयाँ भवनले स्थानीय विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।