अयोध्यामा हिमालयन सिद्ध महायोगको उद्घोष: नेपाल-भारत सम्बन्धको आध्यात्मिक सेतु


अयोध्या, उत्तर प्रदेश, भारत जेष्ठ १८ गतेदेखि भारतको ऐतिहासिक तीर्थक्षेत्र श्रीराम जन्मभूमि अयोध्यास्थित मनिराम दास छावनीमा सुरु भएको श्रीरामकथा महोत्सव तथा हिमालयन सिद्ध महायोग साधना प्रशिक्षण कार्यक्रमले नेपाल-भारत सम्बन्धमा आध्यात्मिक पुनर्जागरणको ऐतिहासिक संकेत दिएको छ।

कार्यक्रमका प्रमुख वाचक र आध्यात्मिक केन्द्रबिन्दुका रूपमा नेपालका विशिष्ट सन्त जगद्गुरु स्वामी रामकृष्णाचार्यजी महाराज (महायोगी सिद्धबाबा) को उपस्थितिले भारतभरिका नागरिक, साधु, सन्त र राजनैतिक नेतृत्वमा नेपालप्रतिको सम्मान र आध्यात्मिक चासो अझ प्रगाढ बनाएको छ ।

भारतका विभिन्न मठका मठाधीश,  साधु-सन्तहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमलाई भारतको केन्द्र सरकार, उत्तर प्रदेश राज्य सरकार र अयोध्या नगरपालिकाले उच्च प्राथमिकता दिँदै विशेष सुरक्षा र व्यवस्थापकीय व्यवस्थाहरू मिलाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको विशेष चासो र समर्थनले पनि कार्यक्रमप्रति भारत सरकारको दृष्टिकोणलाई स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

महायोगी सिद्धबाबाबाट सञ्चालित ‘सुरत शब्दयोग ध्यान-साधना’ प्रशिक्षणमा भारतका विशिष्ट व्यक्तित्वहरूदेखि लिएर नेपाल, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियासम्मबाट आएका नेपालीहरूको समेत उल्लेख्य सहभागिता रहेको छ ।

सिद्धबाबाको प्रमुख वाचकत्वमा आयोजित कार्यक्रमलाई भारतले दिएको सम्मानले नेपालको आध्यात्मिक महत्वलाई पुनः स्थापित भएको अनुभूति गराएको सहभागीहरुले बताएका छन् । विशेष गरि नेपालका साधुलाई प्रमुख आतिथ्यता दिनु र सवारीका लागि रथयात्रामा नगर परिक्रमा गराइनु नेपाल-भारतबीचको धार्मिक आत्मीयताको प्रतीक बनेको मान्न सकिन्छ । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवहरू, सुरक्षा निकायका पूर्व प्रमुख, वरिष्ठ अधिवक्ता, प्राध्यापक लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता नेपालीको जनप्रतिनिधित्वलाई सशक्त बनाउने पक्षका रुपमा लिन सकिन्छ ।

कार्यक्रममा सहभागी सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रमुख शैलेन्द्र कुमार श्रेष्ठले महायोगी सिद्धबाबाले दिनुभएको आध्यात्मिक प्रशिक्षण र नेपालप्रति अयोध्यानगरीमा देखाइएको सम्मानले अब नेपाललाई धार्मिक पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभयो । कार्यक्रममा तारक ब्रह्मपीठ चतराधाम समितिका अध्यक्ष बाबुराज ओझाले भन्नुभयो, “नेपालबाट यति विशिष्ट आध्यात्मिक प्रतिनिधित्व हुनु स्वयं नेपाली जनता र देशका लागि गर्वको विषय हो।” कार्यक्रमको मञ्चबाटै समितिका उपाध्यक्ष गोविन्द कौशिकले नेपाल धार्मिक-आध्यात्मिक केन्द्र रहेको स्पष्ट घोषणा गर्नुभयो ।

कार्यक्रमलाई दूरदर्शन, सत्सङ, लगायतका भारतीय टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । यसका साथै भारतीय राष्ट्रिय पत्रपत्रिकाहरूमा प्राथमिकताका साथ महायोगी सिद्धबाबाको कथा वाचन र प्रशिक्षणसम्बन्धी समाचार रिपोर्टहरू छापिएका छन्।

धार्मिक कूटनीति र सांस्कृतिक सम्बन्धहरु बलियो बनाउँदै नेपालको अन्तर्राष्ट्रिय हैसियत बढाउन यस्ता पहलहरू महत्वपूर्ण साबित हुन सक्छन् । यस्ता खालका आयोजनालाई नेपाल सरकारले भारतसँगको सम्बन्ध सुधार गर्ने सेतुको रूपमा प्रयोग गर्न सक्ने अवसर रहेको विज्ञहरू बताउँछन् ।

नेपालको आध्यात्मिक सन्तद्वारा भारतको पवित्र भूमिमा यस्तो उच्चस्तरीय सम्मान र सहभागिता हुनु केवल एक धार्मिक कार्यक्रम मात्र होइन, नेपाल-भारत सम्बन्धमा नयाँ युगको शुभारम्भ हो । महायोगी सिद्धबाबाले फैलाइरहनुभएको साधना, सेवा र चरित्र निर्माणको शिक्षाले युवा पुस्तामा चेतना र आत्मविश्वास जगाउने अपेक्षा गरिएको छ । नेपालले यस्ता अवसरलाई आध्यात्मिक कूटनीति र पर्यटन प्रवर्द्धनको रणनीतिमा रूपान्तरण गर्न सक्यो भने, देशको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ हुने निश्चित छ ।