काठमाडौँ । २०७२ सालको भूकम्पकोले क्षति पुर्याएको बालाजुको पौडी पोखरी पुनर्निर्माण गरिएको छ । ७ करोड ८५ लाख रुपैयाँको लागत अनुमानगरिएको पुनःनिर्माण कार्य पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा गरेको हो ।
कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो र २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो । बालाजु उद्यानका धेरै आयाम छन् । तीमध्ये पोखरी एउटा हो । यसकारण पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकै साथ अगाडि बढाइने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताइन् ।
सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीकाअनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
‘पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमताको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो । महानगरको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, ‘पौडीपोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ । पुरानो शौचालय र स्नान घर पुनःनिर्माण गरिएको छ । लकरहरुको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ । पानीको पिएचभ्यालु र क्लोरिन भ्यालुको सन्तुलनगर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।’
पौडी सञ्चालनगर्न संघसँग सम्झौता
पौडी पोखरी सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौता गरेको छ । आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीकाबीच सम्पन्न सम्झौता बमोजिम संघले १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति उपलब्ध गराउने छ ।
महानगरपालिकाले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा पुगिसक्नु पर्नेछ । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनु पर्नेछ । यो सम्झौतापोखरी सञ्चालन अवधिका लागि हो ।
उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बीचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । वि.सं. २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण गरिएपनि २०२१ सालदेखि मात्र सर्वसाधारणका लागि खुला गरिएको हो ।


प्रतिक्रिया