जहाँ देवीलाई चढाइन्छ दाम्लो



गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् रु सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ ।

गोरखा नगरपालिका–५, पस्लाङस्थित नाम्रुङदेवी थानमा पूजाआजा गरेर ‘दाम्लो’ चढाउने सयौँ वर्षदेखिको चलन अहिले पनि कायमै छ । “गाईवस्तु बिरामी भएमा वा ब्याउन गाह्रो भएमा नाम्रुङदेवीको भाकल गर्छौँ”, मन्दिरको पुजारीसमेत रहेका स्थानीय जुनबहादुर रानामगर भन्छन्, “अनि आफूलाई अनुकूल समय मिलाएर थानमा पूजा गरेर दाम्लो चढाउने चलन छ । भाकल गरेपछि अहिलेसम्म पूरा पनि भएको छ ।”

मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उनले बताए । “गोरखा, तनहुँ, लमजुङ, चितवनबाट यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन्”, उनले भने । किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उनको भनाइ छ ।

नाम्रुङदेवीथानमा स्थानीय जातको कुखुराको अण्डा गाडेर मौसम परीक्षण गर्ने चलन पनि छ । “यहाँ हरेक वर्ष चण्डी पूर्णिमाको दिन दुईवटा लोकल कुखुराको अण्डा गाड्ने चलन छ”, उनले भने, “अर्को वर्षको चण्डी पूर्णिमामा त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष शुभ हुन्छ भन्ने विश्वास गरिन्छ । अण्डा बिग्रियो, कुहियो भने अशुभ हुन्छ भनेर अनुमान गरिन्छ ।” अण्डा बिग्रिएमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारीले गाउँलेलाई दुःख दिने जनविश्वास छ ।

यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकिन नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउँछन् ।

उनका अनुसार नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी भने मगर समुदायबाट चुनिन्छन् । यहाँ कुखुरा, परेवा, बोका पाठा बलि चढाइने भट्टराईले बताए । पहिले सरकारले पूजा खर्च दिने गरेकामा केही वर्षयता खर्च कटौती गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

इलाम। विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य

बेनीमा गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७

लोमान्थाङ पर्यटकका लागि लो राज्य छँदाका राजाहरुको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै

  धर्मेन्द्र झा, लोमान्थाङ (मुस्ताङ) । म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै

पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र