होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी



रामचन्द्र रायमाझी, तानसेन (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्थे । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उनी गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आएका थिए । त्यही मजदूरीको भरमा सारुले आठ जनाको परिवार पालेका थिए । पर्यटकीय स्थल फोक्सिङ्गकोट नजिकै वस्तीमा बसोबास गरिरहेका उनले हाल मजदूरी गर्न छाडेका छन् । केही समययता उनको वस्तीमा होमस्टे (घरवास पर्यटन) सञ्चालन भएपछि अर्काकोमा मजदूरी गर्नुपर्ने बाध्यता हटेको उनी बताउँछन् ।

सारु मजदूरी छाडेर होमस्टेकै व्यवस्थापन र पाहुनाको स्वागतमा लागेका छन् । होमस्टेबाट राम्रै आम्दानी हुने भएपछि उनी उत्साहित छन् । यस्तै स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफूहरुका लागि आयआर्जन पनि हुने र आफ्नो कला, संस्कृतिलाई चिनाउने अवसर समेत मिल्ने भन्दै खुसी व्यक्त गरे । धनबहादुर र रनबहादुर मात्र होइन, यहाँका वासिन्दा होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।

आफ्नो कला, संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताए । उनले भने, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला, संस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार–प्रसार हुनेछ ।’

बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जे जे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुई/चार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाइ छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले केही दिन अघि गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् । होमस्टे सञ्चालन भएपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् ।

समुद्र सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकले रानीबास गाउँबीचमा रहेको चुर्कीथान, माछापुच्छे्र, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमश्रृङ्खला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन् ।

होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झामे्र नाँच, मारुनी नाच, सालैजो, कौडा, ठूलो नाच, पञ्चेबाजा कला, संस्कृतिसमेतको आनन्द लिन पाउनेछन् । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ । कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताइन् ।

होमस्टे पुग्ने पर्यटकहरुको लागि अवलोकन गर्न जनजाति सङ्ग्रहालय समेत निर्माण गरिएको छ । यहाँ जनजातिका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थितरूपमा सजाएर राखिएका छन् । साथै, मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाँडा, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामान सङ्ग्रहालयमा राखिएका छन् । परम्परागत र आधुनिक सीपकलाको मिश्रणबाट सङ्ग्रहालय भवनलाई कुडुले घरको रूपमा निर्माण गरिएको छ ।

भवन तथा सङ्ग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको एक करोड १५ लाख खर्च भएको छ । अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् । तीमध्ये १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ । यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कला, संस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

आफ्नै घरमा पाहुनालाई राखेर आफैंले  उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसले आम्दानी गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो । होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । सामान्य आयस्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो ।

होमस्टेमा आउने पाहुनाले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवासमेतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दूरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छन् ।

होमस्टे ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । ग्रामीण समुदाय अझ विशेषगरी आर्थिक तथा सामाजिक वञ्चितीकरणमा पारिएका महिला, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई आर्थिक सशक्तिकरण गरेर विकासको मूलधारमा ल्याउन होमस्टेले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । त्यसैले होमस्टे स्थापना तथा प्रवद्र्धन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सबैको चासो र प्राथमिकताको विषय भएको छ ।

नेपालमा होमस्टेको प्रचलन परम्परागत भए पनि पछिल्लो समयमा यसलाई कार्यविधि नै बनाएर व्यवस्थित गर्न खोजिएको छ । अहिले होमस्टे कार्यविधि २०६७ ले निर्देश गरेअनुरूप नै सञ्चालनमा छन् । पर्यटकलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभूति गराउने र पर्यटनको माध्यमबाट दूरदराजका मानिसको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकाससँग जोडी पर्यटनमैत्री वातावरण बनाउने यस कार्यविधिको उद्देश्य रहेको छ ।

होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ । अहिले नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्वका साथ हेरेको पाइन्छ ।

यहाँ घरवास सञ्चालनमा आएसँगै यस क्षेत्रका सांसद तथा मन्त्रीसमेतले चासो व्यक्त गरेका छन् । उनीहरुले होमस्टेको दिगो विकासका लागि आपूmले आवश्यक सहयोग गर्ने बताएका छन् । यहाँका नागरिकको आम्दानीको स्रोत होमस्टे बन्न सक्ने भन्दै उनीहरुले आवश्यक भौतिक पूर्वधार निर्माणमा आपूmहरुको सहयोग रहने स्थानीयसँग प्रतिवद्धता जनाएका छन् ।

पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले ग्रामीण पर्यटन विकासको लागि होमस्टे कार्यक्रम प्रभावकारी हुने बताए । होमस्टेको कारण फोक्सिङ्खकोटको विकासमा महत्वपूर्ण योगदान पुग्ने समेत उनले विश्वास व्यक्त गरे । उनले भने, ‘‘अब फोक्सिङ्खकोटमा आउने मोटरबाटो स्तरोन्नति हुनेछ, पर्यटकीय पूर्वाधारहरु निर्माण हुनेछन् ।’ सङघ, प्रदेश र स्थानीय सरकार मिलेर फोक्सिङ्खकोटको विकासमा अगाडि बढ्ने समेत सांसद आचार्यले बताए ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले होमस्टे सञ्चालन हुनु राम्रो पक्ष भएकाले पाहुनाहरुलाई सन्तुष्टि गराउन सके यहाँका वासिन्दा घरमै बसीबसी आम्दानी गर्नसक्ने बताए । ‘‘हामी सबैको चाहना गाउँलाई सुखी सम्बृद्धि बनाउने भएकाले स्थानीय उत्पादन, स्थानीय कला, संस्कृति र प्राकृतिक अवलोकनको अभियानबाट नै गाउँमा प्रशस्त आम्दानी गर्न सकिन्छ’’ उनले भने । होमस्टे कार्यक्रमको लागि आवश्यक पर्ने पूर्वाधार, तालिम, तथा प्रचार–प्रसारमा प्रदेश सरकारको सहयोग रहने मन्त्री सारुले बताए । उनले मगर समुदायको संस्कृतिको संरक्षण र स्थानीयलाई घर खर्च चलाउन होमस्टे उपयुक्त माध्यम बन्ने समेत विश्वास व्यक्त गरे ।

होमस्टेलाई एउटा शुद्ध व्यापारका रूपमा मात्र नबुझेर संस्कृति, परम्परामा आधारित पर्यटन सेवा हो भन्ने होमस्टे सञ्चालक, होमस्टेमा बास बस्न आउने अतिथि पर्यटक तथा नीति निर्माताले बुझ्नुपर्छ । होमस्टे ग्रामीण पर्यटनको पूर्वाधार मात्र नभएर, समुदायको एकीकृत विकासको महत्वपूर्ण अङ्ग पनि हो ।

यसलाई एकीकृत विकासको अवधारणाअनुसार दीर्घकालीन सोचसाथ अगाडि बढाउन सकिएमा समुदायलाई सामाजिक र आर्थिक समृद्धिको पथमा डोर्याउन सकिन्छ । स्थानीय सामाजिक, साँस्कृतिक रहनसहन तथा वातावरणीय सम्पदालाई पर्यटन व्यवसायसँग जोडेर समुदायमा स्वरोजगारको अवसर सिर्जना गर्न र ग्रामीण अर्थतन्त्र सबलीकरण गरी देशको आर्थिक समृद्धिको अभियानमा होमस्टेले सशक्त भूमिका खेल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

सुन्दरबजार, (लमजुङ) । पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट

गौशाला धर्मशाला सञ्चालनका विषयमा मारवाडी सेवा समितिका पक्षमा उच्च अदालतको फैसला

काठमाडौं । पशुपति गौशाला धर्मशाला सञ्चालन मारवाडी सेवा समितिले गर्न पाउने भएको छ

लगातार चौथो दिन नेप्सेमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ