‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’
–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए । २२ वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो ।
केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए । त्यहाँ १० वर्ष जति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारी खेती । निरन्तर प्रयास गरे के हुँदैन! त्यसैको उदाहरण बनेका छन् ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उनले हाल ५० रोपनीमा विस्तार गरेका छन् ।
‘पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौं कमाई गरिरहेको छु’, ढकालले भने ।
उनले बाह्रैमास तरकारी खेती गर्छन् । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उनको बारीमा । पछिल्लो समय तरकारीका साथै बिरुवा समेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिए । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उनले बताए ।
तरकारी खेती गरिरहेको सबै जग्गा भने उनीको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिएका छन् । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाएका छन् । उनले भने, ‘उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक रु ८० लाखसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर रु १५ लाख बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।’
विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएका छन् । ‘तरकारी खेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए। अर्काको देशमा नोकरी गरेर बसेको भए खै ! यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ । आम्दानी र सन्तुष्टि दुवै’, ढकालको भनाइ छ ।
हाल उनकी एक छोरी विदेश र छोरा शिक्षक छन् । ३० लाख खर्चेर बस्न लायक घर बनाएका छन् । आफ्नै नाममा दुई रोपनी जग्गा जोडेका छन् । तरकारीको बजारीकरणका लागि बोलेरो जीप, मोटरसाइकल र स्कुटर किनेका छन् । आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिए । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उनले बताए । ‘कृषि व्यवसाय विस्तारका लागि हालसम्म रु १० लाख बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ’, उनले खुसी साटे ।
व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताए । ‘कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफै हो’, उनको कथन छ, ‘यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।’