वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
महोत्तरी । पछिल्लो समय जङ्गली वन्यजन्तु गाउँबस्ती वरिपरी नै रमाउन थालेका छन् । पछिल्लो एक दशकपछि गाउँबस्ती छेउछाउमा बँदेलको सङ्ख्या बढ्नेक्रम जारी छ ।
सुरूमा सिकारीको चहलपहल छल्न र आहाराको खोजीमा वन क्षेत्रबाट बस्ती पसेका बँदेल गाउँबस्तीमै रमाएर आफ्नो बासस्थान बिर्सन थालेका छन् । बँदेलका शाखा सन्तान यतै वृद्धि भएपछि बस्ती नजिकका झाडी यिनको नयाँ बासस्थान बनेको स्थानीय बासिन्दाको भनाइ छ ।
“हाम्रो गाउँको पुछारमा दशगजा (नेपाल भारत सीमा) नजिकका झाडीमा बँदेलका तीन÷चार पुस्ता देखिन्छन्,” जलेश्वर–५ चौरिया बस्तीका ७५ वर्षीय रहिमन मण्डल भन्छन्, “यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन्, अनि किन सम्झुन् वनजङ्गल !” मण्डलले सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टि र खैरासम्मका आफ्ना वरपरका बस्ती नजिक अब झुण्ड–झुण्डमा बँदेलको स्थायी बसोबास बढेको बताए ।
दक्षिणतर्फ भारतसँग सीमा जोडिने पूर्व मटिहानीदेखि पश्चिमको खैरवनीसम्मको करिब ३९ किलोमिटरसम्म बँदेलको सघन उपस्थिति छ । अझ नदीउकास क्षेत्रका काँसका झाडी भएका ठाउँमा त झन् बढी बँदेल देखिने गरेको खैरवनीका बासिन्दा कौशीलाल यादव बताउँछन् । नेपालतर्फ मात्र नभएर सीमापारिका भारतीय बस्तीमा पनि उल्लेख्य सङ्ख्यामा बँदेल देखिने गरेको यादवको भनाइ छ ।
बर्दिबासबाट १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा अहिले बँदेलको आतङ्क छ । उखु नकाटिउन्जेल त्यसैको घारीमा बस्ने बँदेल एक ठाउँको उखु काटिएपछि नजिककै अर्कोतिर बास सारेर बस्ने गरेका भङ्गाहा–४ का सामाजिक कार्यकर्ता ६५ वर्षीय मुकुन्द दाहाल बताउँछन् ।
बँदेलको आतङ्कले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र घुमफिरमा निस्कन डरमर्दो भएको दाहालको भनाइ छ । तर पाँचरसात वर्षअघि भर्खर वनबाट बस्ती नजिक आएका बँदेलको जस्तो जङ्गली व्यवहार भने अहिले यस क्षेत्रमा पाइने बँदेलको नरहेको दाहालको अनुभव छ । बँदेलले धेरैजसो ससाना केराका कोथा, कोवी, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ । “हामीले यिनको आतङ्कले पछिल्ला ४र५ वर्षयता राम्ररी बाली लिन पाएका छैनौँ,” रामगोपालपुर–२ मोहनपुरका मोहम्मद कादिर हुसैन भन्छन्, “अब त यिनकै लागि बाली लगाएजस्तो भएको छ ।”
बँदेलजस्तै नीलगाई पनि अब जिल्लाका सुदूर दक्षिणी बस्तीसम्म बाक्लै भेटिन्छन् । नीलगाई चाहिँ वनतिर ओहोरदोहोर गरिरहेका अवस्थामा भेटिने गरेको औरही नगरपालिका–४ बैरियाका रामस्नेही यादव बताउँछन् । “बँदेल त यतै स्थायी रूपले बस्न थालेका छन्, नीलगाई भने यता चरेर केही दिनको फरकमा वनतिर आउनेजाने गरिरहेका बुझिन्छ,” यादव भन्छन्, “यद्यपि नीलगाई पनि ठाउँठाउँमा निकै सङ्ख्यामा देखिन्छन् ।” अब बँदेल र नीलगाई वन्यजन्तु नभएर बस्ती वरपर बसोबास गर्ने जन्तुसरह बनेका यादवसहितका सो बस्तीका बासिन्दा बताउँछन् ।
जिल्लाका १५ वटै स्थानीय तहका बस्ती वरपर अहिले बँदेल र नीलगाईको उत्पातले किसान दिक्क भइरहेका छन् । यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुखेसो छ । “हामी स्थानीय तह, प्रहरी, प्रशासनमा हारगुहार गरेको गरिरहेका छौँ,” बलवा नगरपालिकाको रौजाका मन्सुल कवारी भन्छन्, “तर भरपर्दो कुनै उपाय खोजिएको देखिँदैन ।”
बँदेल, नीलगाईसँगै अब दुम्सी पनि गाउँबस्ती नजिक बाक्लै देखिन थालेका छन् । दुम्सीको बासस्थान पनि उखुघारी र काँसझाडी नै हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । वनमा अत्यधिक मानव चहलपहल बढ्दै जानु, सिकारीबाट हुेन आक्रमण बढ्नु, पानी र आहाराको कमी हुँदै जानुले वन्यजन्तु गाउँबस्तीतिर आउनेक्रम बढेको पूर्वसहसचिव एवं कृषिविज्ञ स्थानीय भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको ठम्याइ छ ।