रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको रोजाइमा



तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताए । उनका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ।

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियो । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिए ।

व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताए । उनले भने, ‘ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ।’ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवद्र्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उनले बताए ।

उनले भने, ‘पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।’ रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गरे । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धरानमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

धरान । बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ

पूर्वडीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको स्रोत सुनिश्चित गर्दै सरकार, वर्षामा आवागमन नरोकिने

काभ्रेपलाञ्चोक । सरकार क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ ।

६ महिनामा पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर। काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख