बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवन



–भुपेन्द्र विक, बर्दिया । बर्दियास्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएका देखिन्छन् । धेरैजसो बगर उपयोगविहीन छ ।

राजापुरसँग जोडिएको कैलालीको टीकापुर–८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन् । ३ वर्षअघिसम्म मरुभूमिझैं देखिने यो क्षेत्र अचेल यहाँका किसानका लागि आम्दानीको स्रोत बनेको छ ।

हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारी खेती गरी किसानले आम्दानी गरिरहेका छन् । यो बगरमा अचेल कहिले लौका, काँक्रा, तरबुजा त कहिले प्याज फल्छन्, जसले किसानको जीवनशैली फेरिँदै गएको छ ।

विसं २०६४ को बाढीले यहाँका किसानको खेतीयोग्य जमिन कटान गरी क्षति पुर्‍याएकामा त्यसयता त्यो क्रम निरन्तर जारी छ । यहाँका धेरैजसो किसानको सबै खेती बगाएपछि आर्थिक उपार्जनको कुनै उपाय थिएन । पछिल्ला समय कर्णाली नदीले कैलालीतर्फको धार परिवर्तन गर्दै बर्दियातर्फ मोडिएपछि त्यही बगरमा खेती गरेर ती किसानले आफ्नो गर्जो टारिरहेका छन् । ३ वर्षदेखि यहाँ बगरखेती हुँदै आएको छ ।

स्थानीय सोहदी चौधरीले भने पहिलो पटक यस वर्षदेखि बगरखेती सुरु गर्नुभएको छ । छोरी सेती चौधरीले प्रेरित गरेपछि उनी यसतर्फ आकर्षित भएकी हुन् । छोरी सेतीले गत वर्ष घरअगाडिको खाली बगरमा नौ किलोग्राम प्याज रोपेर चार क्विन्टल उत्पादन गर्न सफल भएपछि आमाले पनि उत्साहित हुँदै १५ केजी प्याजको बीउ रोप्ने आँट गरेको सोहदीले बताए ।

‘छोरीले राम्रो कमाई गरेपछि मैले पनि हिम्मत जुटाएँ । पहिलो पटक बगरमा खेती गर्दैछु, हेरौँ राम्रै होला भन्ने अपेक्षा छ’, उनले खुसी हुँदै भनिन् । यहाँ ३ वर्षअघि खेती गर्ने किसानमध्ये एक थिए शाहीबहादुर चौधरी ।

बगरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँको सम्पूर्ण परिवार यसै कार्यमा लागेको छ । ‘ती वर्षअघि यो बगरमा हामीले नै पहिलोपटक खेती गरेका थियौँ । राम्रो कमाई हुन थालेपछि अहिले मेरो सातजनाको परिवार यही खेतीमा लागेका छौँ । हाम्रो प्रगति देखेर पछिल्लो समय यस क्षेत्रका अन्य किसान पनि आकर्षित हुँदै गएका छन्’, चौधरीले भने।

उनले यसपटक आफूले ३० क्विन्टल प्याज फलाउने लक्ष्यसहित खेती गरेको बताए। बडघर अजय चौधरीका अनुसार यहाँ सोहदी, सेती र शाहीबहादुर मात्र नभई ५४ परिवार किसानहरूले हाल बगरखेती गरिरहेका छन् । ‘पहिले उहाँहरूले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहनु भएको थियो । पछिल्लो ३ वर्षयता भने उहाँहरूले बगरखेती गर्न थाल्नु भएको छ । सबै जनाले राम्रो आम्दानी गरिरहनु भएको छ’, उनले भने ।

किसान मीना चौधरीले आफूहरूले मौसमअनुसार लौका, काँक्रा, तरबुजा र प्याजखेती गरिरहेको बताइन् । उनले उत्पादित सामग्री बिक्रीका लागि किसानलाई कुनै समस्या नभएको सुनाइन् ।

‘हामीलाई बजारको कुनै चिन्ता छैन, उत्पादन गरे पुग्छ । नेपालगञ्ज, राजापुर, लम्की र टीकापुरसम्मका व्यापारीहरू गाडी लिएर आफै खरिद गर्न आउँछन्’, चौधरीले भनिन्, ‘व्यापारीहरू नै यही आएर राम्रो मूल्य दिएपछि धेरै सहज भएको छ । उत्पादन गरेको सामग्री कसरी बेच्ने होला भनेर चिन्ता नहुने भएपछि खेतीमै ध्यान दिए पुग्छ ।’

बजारको समस्या नभए पनि यहाँका किसानलाई सिँचाइको समस्या भने टड्कारो छ । यो समस्या समाधान भएमा आफूहरूले थप ऊर्जासहित काम गर्ने बताउँछिन्, रतरानी चौधरी । ‘नदीछेउमै घर छ, जमिनका नाममा यही बगर हो । पछिल्लो यही बगरमा पसिना चुहाएर जीविको चलाइरहेका छौँ तर सिँचाइको समस्याले निकै चुनौती छ । कति दिनसम्म बाल्टीमा पानी बोकेर सिँचाइ गर्नु’, उनले दुःखेसो पोखिन्, ‘उसै त बालुवामा धेरै पानी चाहिने, बाल्टिको पानी त बालुवाले एकै छिनमा सोस्छ । प्याज र तरकारी खेतीमा धेरै पानी चाहिने भएकाले सरकारले सिँचाइको व्यवस्था गरिदिए सहज हुन्थ्यो ।’

स्थानीय पार्वती चौधरी पनि सिँचाइ व्यवस्थाका लागि सहयोग गर्न स्थानीय सरकार र सरोकारवालालाई आग्रह गर्छिन् । ‘सिँचाइको राम्रो व्यवस्था भए, हामी अझ धेरै खेती गरेर राम्रो आम्दानी गर्न सक्थ्यौँ । प्रत्यक्ष रूपमा हामीलाई फाइदा भए पनि यसको लाभ त अरूलाई पनि हुन्थ्यो नि !’, उनले भनिन् ।

बगरखेतीले फाँटाका किसानहरूको जीवनमा नयाँ उत्साह ल्याएको छ । किसानहरूले बगरमा पसिना सिञ्चन गरी राम्रो आम्दानी गरिरहेका छन् । यसले किसानको आर्थिक स्थिति सुधारका साथै ग्रामीण अर्थतन्त्रलाई पनि गतिशील बनाएको छ । यदि सिँचाइको उचित प्रबन्ध हुने हो भने यस कार्यले फाँटा गाउँ र समुदायको समृद्धिमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

मनाङ । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी

कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

देउखुरी (दाङ) । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले

विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल

सुनको मूल्य घट्यो

  काठमाडौँ । नेपाली  बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक