पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’



 

टेकराज केसी सुर्खेत ।

‘सुर्खेतमा बुलबुले ताल,
चौतारीमा भेट भयो यो साल’

अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ ।

पहिलोपटक कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एकपटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उद्यान क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । समुद्री सतहबाट करिब छ सय ५७ मिटरको उचाइमा अवस्थित बुलबुले तालमा मोटरेबल समेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ । तालमा अहिले मोटरबोट शयर गर्नसमेत सकिन्छ ।

बाह्र हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार पाँच सय वर्गमिटर बनाइएको छ । अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।

नजिकै रहेको काँक्रेबिहारले पनि रमाइलो थपिदिन्छ । यहाँ वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो बढ्न थालेको छ । विशेषगरी बिदाको दिन बुलबुले घुम्न जाने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । अहिले बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्ति बुलबुले घुम्न आउने गरेको वीरेन्द्रनगर नगर विकास समितिअन्तर्गत टिकट काउन्टरमा कार्यरत माली निर्मला बास्तोला बताउँछिन् ।

‘अहिले दैनिक औषतमा पाँच सयभन्दा धेरै व्यक्ति बुलबुले अवलोकन गर्न आउने गर्नुहुन्छ, दैनिक टिकट बिक्रीबाट १५ हजार आम्दानी हुने गरेको छ,’ उनले भनिन् । बिदाका दिनमा ३५ हजारसम्मको आम्दानी हुने गरेको निर्मला बताउँछिन् ।

बुलबुले घुम्न आएका आन्तरिक पर्यटकले भने नगरपालिकाले अझै उद्यान क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको औँल्याएका छन् । वनभोजका लागि आएका शिव मावि धुलियाबिटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले उद्यानसँगै सार्वजनिक शौचालयलगायतका संरचना बनाएर व्यवस्थित गर्नुपर्ने सुझाव दिए । ‘अहिलेको समय भनेको हरेक नागरिकका लागि रमाइलो चाहिएको छ, त्यसका लागि उपयुक्त ठाउँ बुलबुले बनिरहेको छ, तर यसको व्यवस्थापन अझै गर्न आवश्यक देखिन्छ’, उनले भने ।

प्रधानाध्यापक पौडेलले सार्वजनिक शौचालयदेखि रातिको समयमा घुम्न मिल्ने वातावरण बनाउनुपर्ने सुझाव दिए । बत्ती, पानीसहित चार्चिङ स्टेशनलगायत संरचना बनाएर अझै प्रचारप्रसार गर्न सके वीरेन्द्रनगरको आन्तरिक आम्दानीको ठूलो स्रोत बुलबुले बन्न सक्ने उनको भनाइ छ ।

बुलबुले घुम्न आएका टङ्कप्रसाद पोख्रेलले पनि बुलबुले आफैँमा महत्त्वपूर्ण र घुम्नलायक ठाउँ रहेको भन्दै आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउनेगरी सरकारले काम गर्नुपर्ने सुझाव दिए । ‘अझै आकर्षक र हेर्नलायक बनाउन सक्नुपर्छ, यही प्रदेश सरकार पनि भएको हुँदा स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्छ,’ उनी भन्छन् ।

बाहिरबाट सुर्खेत आएपछि बुलबुले घुम्न जाने गरेको उल्लेख गर्दै शिक्षक कमला खतिवडाले पनि अझै सबैको रोजाइ हुनेगरी बुलबुले उद्यान निर्माण गरिनुपर्नेमा जोड दिइन् । व्यवसायी ओमप्रकाश तिवारीले बुलबुले, काँक्रेबिहारलगायत पर्यटकीय क्षेत्रलाई पर्यटकको रोजाइ बन्नेगरी योजना बनाउनुपर्ने भन्दै यसले अर्थतन्त्रलाई टेवा पुग्न सक्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने सुदीप यसरी परे प्रहरी फन्दामा

काठमाडौं । प्रहरीको नक्कली इन्स्पेक्टर बनेर युनिफर्म लगाएको फोटो देखाएर ठगीमा सक्रिय रहेका

गृह मन्त्रालयद्वारा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, जयनारायण गृहमा तानिए

काठमाडौं । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

कुलमानलाई हटाउन खोज्दै उर्जामन्त्री खड्का, फेरि सोधे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

किशोरी बलात्कार प्रकरणः बिर्तामोडका पूर्वमेयर शिवाकोटी जेल चलान

झापा । किशोरी बलात्कार आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी