प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा



म्याग्दी । करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो ।

स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुन फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताउँछन् । ‘बेनी बजार नजिकैको सबैभन्दा उच्च स्थानमा प्रकृति र संस्कृतिमा रमाउन पाउनु फलामेडाँडाको विशेषता हो’, उनी भन्छन्, ‘बेनी, बागलुङ र कुश्माबाट बिदा मनाउन आन्तरिक पर्यटक यहाँ आउन थालेका छन् ।’

प्राकृतिक हिसाबले सौन्दर्ययुक्त फलामेडाँडा जोड्ने सडक स्तरोन्नति सुरु र सामुदायिक लज सञ्चालन भएकाले पाहुनाहरू आकर्षित भएका पुनले बताए । शनिबार र सार्वजनिक बिदाका दिन पाहुनाको चाप हुने फलामेडाँडा अन्य दिन पनि सुनसान हुँदैन ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको फलामेडाँडालगायत म्याग्दी र पर्वतका पर्यटकीयस्थललाई समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा सहायक गन्तव्य हो । पहाडको टुप्पोमा अवस्थित फलामेडाँडाको पृष्ठभूमिमा धवलागिरि, निलगिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । कालीगण्डकीको तिरबाट म्याग्दी, पर्वत र बागलुङका बस्तीका साथै सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य देखिने कुश्माको ज्ञादिबाट फलामेडाँडा आएका विमल ढकालले बताए ।

मगर समुदायको मौलिक कला र संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्यता र ग्रामीण जीवनशैली पनि फलामेडाँडाको थप आकर्षण हुन् । धवलागिरि आमा समूहले पाहुनालाई मौलिक गीत र नृत्यबाट स्वागत गर्छन् । पञ्चैबाजामा नाचगान गर्न पाइन्छ ।

बेनीबाट दुई घण्टा ३० मिनेट पैदलयात्रा र एक घण्टा २० मिनेट जिप र मोटरसाइकलको यात्रा पनि पुगिने फलामेडाँडामा पाहुनाघर सञ्चालन भएको छ । एक दिनमा २० जना बास बस्न सक्ने क्षमताको पाहुनाघरमा स्थानीय कुखुरा, खसीको मासु, साग, मुला, कोदो, फापरका परिकारको स्वाद लिन पाइन्छ ।

‘फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तिब्रता दिएका छौँ,’ वडा अध्यक्ष तिलक जिसीले भने, ‘पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खानेबस्ने समस्या हटेको, आयआर्जन र रोजगारीका अवसर सिर्जना भएको छ ।’ गत वर्ष फलामेडाँडाको प्रवर्द्धन गर्न लाटोकोसेरो महोत्सव पनि आयोजना भएको थियो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले फलामेडाँडा, हम्पाल, धाइरिङको भूमे ठाकुर र बनौलाई पर्यटकीय तथा बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएको बताए । फलामेडाँडा क्षेत्रको खानेपानी समस्या समाधानका लागि सङ्घीय सरकारमार्फत भित्रिएको आयोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै

विशेषको फैसला: पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि भएन

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल

गण्डकी । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका

मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो

झापा। प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग परियोजनाबाट प्रभावित जग्गाधनीहरूले अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने