बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
राम थापा, गण्डकी । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन् । बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरे पनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।
नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । उनले भनिन्, “मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।”
बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।
“यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ”, उनले भनिन्, “मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।” कठिन परिस्थितिमा पनि विचलित नभइ पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उनले खुसी व्यक्त गरिन् ।
“यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पुर्याउनेछ”, आचार्यले भनिन्, “वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।”
चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोजेकी थिइन् । काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढेकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गरेकी थिइन् । स्नातकोत्तर अध्ययनका लागि उनले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाएकी थिइन्।
स्नातकोत्तर सकेर नेपाल फर्केपछि उनले फोहरमैला व्यवस्थापनमा काम सुरू गरेकी हुन् । प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद ! म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गरेकी थिइन् । पर्यावरण अभियन्ताका रूपमा उनले नेपालका धेरै ठाउँमा काम गरिसकेकी छन्।
आचार्यले केही वर्षअघि स्थापना गरेकी ‘अभनी भेन्चर्स’ ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ । फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाइन् ।
“फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ”, उनले भनिन्, “पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।”
उनले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गरिन् । हरेक घरबाटै फोहर व्यवस्थापनको काम सुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उनी ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक हुन् । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आएकी छन् ।
आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उनको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोडेकी थिइन् । सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमासमेत आचार्य नेतृत्वदायी भूमिकामा छिन् ।