विर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै
झापा । विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ । यस्तै, सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उक्त रकममध्ये ६ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा ६ वटा सडक कालोपत्र थालिएको छ । बाँकी रकम बाँकी रकम वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ । उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ ।
नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन् भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् ।
वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युतका खम्बा व्यवस्थापन भइरहेको छ ।
वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी–कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ ।
हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।