‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’



बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरुसँग भेट गर्न नदिने नियति छ विष्णादेवी बुढाको ।

मष्टा गाउँपालिका–६ रिलुकी विष्णाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उनी एकल महिला छिन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उनका दुःखका दिन सुरु भएका थिए । ‘श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार गर्‍यौँ । आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन । फेरि घर ल्याएको केही समयमै उहाँले प्राण त्याग्नुभयो’, विष्णाले सुनाइन् ।

श्रीमान्‌को निधनपछि विष्णाका सबै सपना अधुरा रहे । बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो । परिवारको सहारा टुट्यो । छिमेकीको भरोसा ढल्यो । ‘उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ । गाउँमा बस्ने अवस्था रहेन । त्यसैमाथि घर पनि भत्कियो । अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ सर्‍यौँ । अहिले यहाँ समाज भएर पनि नभएजस्तै जिन्दगी बिताइरहेका छौँ’, उनले पीडा पोखिन् ।

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्णाको चाहना थियो । तर, एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उनलाई पेटको भोकभन्दा भविष्यको चिन्ता पिक्का लाग्यो । त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो, अहिले भने गरिब तथा एकल महिला भनेर संघसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्णाले जानकारी दिइन् । ‘गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ । पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो । आजभोलि बर्खाबाहेक अरु समयमा पानी पाइँदैन । त्यसैले उब्जनी हुँदैन’, उनले भनिन् ।

आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्णाले बताइन् । ‘बाँकी ९ महिना बेसा (अन्न किन्नुपर्ने) अवस्था छ । साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ । बाँकी महिना त खडेरी नै हो’, उनले भनिन् । ५६ वर्षीया विष्णाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला । बिमलाले अहिले ७ वर्षमा पाइला टकिइन् । उनी गर्भमा हुँदा नै बुबाको देहान्त भयो । विष्णाले बुबाको अभाव नहुनेगरी छोराछोरीलाई हुर्काइन् । आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्णाको चाहना छ तर अभाव अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपना झैँ हुन लागेको उनको कथन छ ।

विष्णा अहिले लेकमा बसेर वस्तुभाउ पालिरहेकी छिन् । चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एक जनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैँसँग राखेर पढाउन सहयोग गरिरहेका छन् । ‘गाउँमा सबैका दुःख छन्, विष्णाको परिवारलाई त अझ धेरै नै दुःख छ । बालबालिका पढ्नसमेत नपाएको हुँदा एक जनालाई आफैँसँग राखेर पढाइरहेको छु’, वडाध्यक्ष बोहराले भने, ‘सबै बालबालिकालाई पढाउन सकिएन । गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । त्यसैमा पनि अति धेरै पीडा विष्णालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु ।’

यी समस्या त छँदै थिए, गत वर्ष १६ असोजमा भूकम्पले लेकको छानोमा समेत क्षति पुर्‍याएपछि पीडामाथि थप पीडा थपियो । ‘पीडैपीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो,’ विष्णाले भनिन्, ‘आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ ! एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौँ । पालिकाले अरु भूकम्पपीडितका जस्तै हाम्रो लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो ।’

भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उनी सम्झिन्छिन् । ‘धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले १५ हजार सहयोग गर्‍यो । सोही रकमबाट चामल किनेर चार-पाँच महिनासम्म खायौँ । अरु समस्या त छँदै थियो । बासकै पनि समस्या थपिएपछि घर न घाटजस्तै भएका थियौँ । पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौँ । बस्ने व्यवस्था भएको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गतराति चट्याङ लागेर

छोरीहरूको हत्या गर्ने काम छोडेर बचाउन थालेका सुँडेनीहरूको कथा

अमिताभ पराशर पदनाम बीबीसी सुँडेनीको काम गर्ने सिरो देवीले मोनिका थट्टेलाई अँगालो हालेर

ग्यास बुलेटको ठक्करबाट हेटौंडामा साइकलयात्रीको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट