बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण


बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । दुई करोड ७१ लाख २७ हजार ९६४ मा उक्त पुल निर्माण भएको हो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारीसाधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए ।

गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको उनले जानकरी दिए ।

चार वर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्ने गरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । ‘ढिलो भए पनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई ६० लाख भुक्तानी गर्न बाँकी छ,’ विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने ।