अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई



भेरीगङ्गा (सुर्खेत) । बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मिएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुन् । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन छन् । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जान्थेँ ।

सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो । गाउँको गौरी प्राविमा प्राथमिक तहसम्मको अध्ययन गरेका दुर्गालाई कक्षा पाँचभन्दा माथिको शिक्षा लिन निकै चुनौतीको सामना गर्नुपर्यो ।

घरको आर्थिक अवस्था कमजोर थियो । दुर्गा भन्छन्, “हामी दुई भाइ, पढाइ गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुबाआमालाई हम्मेहम्मे थियो । त्यति हुँदा पनि पढाइलाई भने निरन्तरता दिएँ ।”

विद्यालयमा गुरुहरुले दुर्गालाई धेरै मायाँ गर्थे । सानै कक्षादेखि राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गा घरको काम गरेर विद्यालय जान्थेँ । घरको आर्थिक अवस्थाका कारण पढेर असल व्यक्ति बन्ने लक्ष्यमा लिएको बताउँदै कहिलेकाहीँ लक्ष्य पूरा हुँदैन कि भन्ने चिन्ता लाग्ने गरेको दुर्गा सुनाउँछन् ।

“मेरो पढाइ राम्रो थियो, म कहिले पनि कक्षामा फेल भइनँ, सानो कक्षामा सधैँ प्रथम हुन्थे । घरको अवस्था परिवर्तन गर्नुपर्छ, मैले केही गरेर देखाउनुपर्छ भनेर पढाइमा धेरै मेहेनत गर्थे, आर्थिक अभावले मेरो पढाइ त रोकिन्न भन्ने पनि लाग्थ्यो”, दुर्गा भन्छन् ।

चुनौतीको समानाले पाएको सफलता

बुबाआमाको कमाईबाट मात्रै घर खर्च टार्न, शिक्षा दिक्षा गराउन गाह्रो थियो । जिम्मेवारी पनि बढ्दै थियो । उनले अभावका बीचमा पनि धेरै सङ्घर्ष गर्दै आफ्नो मेहनतलाई निरन्तरता दिए। उनले हिमालय मावी डाँडीमाडी दैलेखबाट एसएलसी पास गरे । एसएलसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गाको सरकारी जागिरमा प्रवेश गरेर सेवा गर्ने लक्ष्य थियो ।

प्लस टू (१० जोड २) को पढाइ गराउन सक्ने अवस्था बुबाआमासँग थिएन । “अब मेरो पढाइ रोकियो, पढेर आफ्नो लक्ष्य पूरा गर्ने सपना अधुरै रह्यो भन्ने चिन्तामा थिएँ”, दुर्गा भन्छन्,” “मसँग पढेका सबै साथी पढ्न अन्यत्र गइसके, एकातिर घरको कमजोर आर्थिक अवस्था छ, अर्कोतिर आफूसँगै भाइको पढाईलाई पनि निरन्तरता दिनु छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने भयो भन्ने लाग्थ्यो ।”

उनको रोकिने अवस्थामा पुगेको अध्ययनलाई अगाडि बढाउन परिलक्षित संस्थाले सहयोग ग¥यो । अपाङ्गताका क्षेत्रमा काम गर्ने परिलक्षितले आर्थिक अभाव भएर पढाइ गर्न नसकेका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको थाहा पाएपछि दुर्गा परिलक्षितको सम्पर्कमा गए । उनलाई काठमाडौँमा पढ्ने, बस्नेलगायत व्यवस्था उक्त संस्थाले गरिदिएपछि दुर्गाको उच्च शिक्षा बाटो खुल्यो ।

“घरको आर्थिक अवस्था कमजोर हुँदा मैले पढाइ रोक्ने निर्णयमा पुगेको थिएँ”, दुर्गा भन्छन्”, “मेरो उच्च शिक्षासम्मको पढाइमा लाग्ने खर्च सबै परिलक्षितले गरिदिएपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ, म संस्थाप्रति आभारी छु ।” पढाइसँगै खाने, बस्ने सबै व्यवस्था भएपछि उनलाई सरकारी सेवामा प्रवेश गर्न थप सहज भयो ।

लोकसेवा आयोगको परीक्षाबाट पहिलोपटक नै सिफारिस

सानैदेखि पढाइप्रति मेहेनत गर्ने दुर्गाले पढ्ने वातावरण पाए । स्नातक तह पार गरेका उनले सँगसँगै लोकसेवा आयोगको तयारी गरे । “गाउँमा दृष्टिसम्बन्धी अपाङ्गता भएकाले केही गर्न सक्दैन भन्ने सोच राख्ने गरिन्थ्यो । रातदिन नभनेर आफ्नो पढाइमा मेहेनत गरेपछि सफल भइदो रहेछ”, उनी भन्छन्।

विसं २०६९ मा पहिलोपटक लोकसेवा आयोगको चौँथो तहमा परीक्षा दिएका दुर्गाले पहिलो पटक नै नाम निकाल्न सफल भएको थियो । अब भने आफ्नो लक्ष्य पूरा भएको उनले अनुभूति गर्न थाले । पहिलोपटक सरकारी सेवामा प्रवेश गरेपछि दुर्गाले धादिङमा गएर सेवा थाले । उनको लक्ष्य र सफलताको यात्रा यतीमा रोकिएन ।

दुर्गाले जागिर गर्दै पढ्दै गरेर लोकसेवा आयोगको पाँचौँ (नायब सुब्बा) मा समेत नाम निकाल्न सफल भए । चार वर्ष धादिङमा सेवा गरेका उनी सुर्खेतको वराहातालमा तीन वर्ष सेवा गरी अहिले डोल्पाको काइके गाउँपालिकामा सेवा गरिरहेका छन् । आर्थिक अभावसँगै अपाङ्गता भएका व्यक्तिले पनि सफलता प्राप्त गर्न सक्छन भन्ने उदाहरण दुर्गाप्रसाद रिजाल भएको छ ।

दुर्गा भन्छन्, “अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन् । त्यसका लागि सोच बदल्न आवश्यक छ । अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाले पनि समाजमा सचेतना जगाउने किसिमका अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

आर्थिक अभाव मात्रै नभई अपाङ्गता भएर शिक्षा र अन्य क्षेत्रमा पछाडि पारिएका व्यक्तिलाई अवसर दिनेगरी योजना सामाजिक संस्थासँग सहकार्य गरी कार्यान्यवन गर्ने आफ्नो भावी योजना रहेको दुर्गा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित

म्याग्दी ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ

  धरान (सुनसरी) ।  सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका

रानी जमरा कुलोको ९९ प्रतिशत काम सम्पन्न, स्थानीयका लागि वरदान बन्यो आयोजना

झलनाथ खनाल, भजनी । डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी