मुग्लिन–पोखरा सडक विस्तार तीव्र


तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ ।
पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किलोमिटर सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किलोमिटर र पश्चिमतर्फ ३८ दशमलव ८८ किलोमिटर सडक विस्तार भइरहेको छ ।
आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किलोमिटर चार लेन र ६ किलोमिटर दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।”
पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए । विसं २०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो ।
कोभिड–१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताए । त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किलोमिटर सडक कालोपत्र गरिएको छ । सम्झौता अनुसार विसं २०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । उनका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।