डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !



खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन्।

आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेकी उनले भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि चिन्तित छन्।

नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढ्छन्। भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन्।

पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताइन्। ‘एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो। दिक्तेल बजारमा सालको पात प्रतिमुठा रु ५० मा बिक्री हुन्छ। अहिले डढेलोले जङ्गल सखाप पार्‍यो,’ उनले भनिन्, ‘सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ। डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ। गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ।’

त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ। कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए। विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन्।

गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ। छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ।

सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो। उपचारमा अस्पतालले रु सात लाख ५० हजार लियो। ‘जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ। अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा रु १६ लाख सकियो,’ उनले भनिन्, ‘काठमाडौँको तीन/चारवटा अस्पताल डुलाउँदा रु १६ लाख सकियो। घरमा एक रुपैयाँ थिएन। सबै ऋण काढेर उपचार गर्‍यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ।’

छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो। ऋण तिर्न विदेश गएका श्रीमान् दुर्घटनामा परी उतै घाइते भए। घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ।

नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा छन्। २०७६ माघ ७ गते साउदी अरब पुगेका दानबहादुर सात महिना नबित्दै लडेर घाइते भएका थिए।

काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ। तीन वर्षसम्म अस्पताल बसेर उपचार गराउनुभएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ।

‘कमाउन विदेश जानुभएका श्रीमान् बिरामी हुनुहुन्छ। कलकलाउँदा उमेरका तीन छोराछोरी छन्। अहिले त सानो बाबु पनि ठीक हुँदैछ,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न धौ-धौ छ। सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो।’

छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उनलाई रातभर निन्द्रा लाग्दैन। कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ। कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब

पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु

चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको