विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ


टीकापुर ।  विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि कैलालीमा सुरु भएको छ।

यहाँका महिलाको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन्।

पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले पुतला खेल महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्वपूर्ण मौलिक परम्परा भएको बताए।

‘‘यसमा विवाहपछि छोरीले भोगेका समस्या समेटिएका छन्, छोरीको कथा समेटिएकाले यो हाम्रा महिलाको महत्वपूर्ण खेल हो’, उनले भने, ‘हरेक पर्वलाई पुस्तान्तरण गर्न आवश्यक छ।’ पुतला खेल्ने महिलालाई वडा कार्यालयले पोशाकसमेत उपलब्ध गराउँदै आएको छ।

कलाकार रङ्गी थापाले पुतला आफूहरुको मौलिक खेल भएको बताइन्। ‘सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा यहाँको पहिचान झल्काउने सांस्कृतिक पर्व हो यो,’ उनले भनिन्, ‘छोरीले घरमा भोगेका पीडा तथा विवाह नभएका युवतीले माइती घरमा रहँदाका बह गीतमार्फत प्रस्तुत गरिन्छ।’

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो समाएर सामूहिक रूपमा पङ्तिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ।

पुतलासँगै महिलाहरुले न्याउल्या खेल पनि खेल्ने गर्छन् । सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेशभूषा लुकेकाले यस्ता संस्कृितलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताए। ‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’, उनले भने, ‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ।’

जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गमस्थलमा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच सुरु गरेका थिए।

मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झदै पुतला खेल्न लगाएका थिए। त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै गरेकी चन्द्रा भण्डारीले बताइन्।