बागलुङ । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ ।
पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुने मात्रै नभइ सडकको १०० मिटर ट्र्याक नै बगाएपछि पहिरो नियन्त्रण ठूलो समस्या बनेको छ । तीन वर्षअघिको असारमा पहाड नै खसेर सडक बगाएपछि जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल समस्यामा परेको छ ।
वैकल्पिक ट्र्याक पनि खोल्न नसक्दा सडक सञ्जालमा दक्षिण भेग टुट्दै आएपछि गण्डकी प्रदेश सरकारको पहलमा दुई पटकसम्म पहिरो समाधानका लागि अध्ययन भएको छ । पहिरो नियन्त्रणका लागि दुई पटक अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरे पनि हालसम्म कुनै काम भएको छैन बरु पहिरोको अध्ययनमा मात्रै ५७ लाख खर्च भएको पाइएको छ ।
पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेशकुमार घिमिरेले पहिरो रोकथाममा १७ करोड ९९ लाख खर्च लाग्ने अन्तिम प्रतिवेदनमा उल्लेख भए पनि चालु आर्थिक वर्षमा जम्मा ५० लाख बजेट आउँदा काम गर्न नसकिएको बताए ।
‘पहिरो बर्सेनि बढिरहेको छ, कुश्मिसेरा जाने सडकको दुई वटा घुम्ती र कालीगण्डकी करिडोरसमेत तीन ठाउँमा बगाएको छ, जोखिम मोलेर पहिरो खसेको स्थानबाटै सवारी साधन सञ्चालन भएका छन् । पानी पर्दासाथ सडक अवरुद्ध हुन्छ, पहिरो बढ्दै जाँदा गलुवाका छ घर जोखिममा पर्ने सम्भावन बढेको छ, वैकल्पिक मार्ग बनाउन अध्ययनले असम्भव देखाएको छ, कालीगण्डकी नदीमा पुल नबने त्यही सडकको विकल्प छैन’, शर्माले भने, ‘गण्डकी प्रदेश सरकारले विज्ञको समूह बनाएर दुई पटकसम्म पहिरो रोकथामको लागि अध्ययन गरेको थियो, पहिलो अध्ययनले पहिरो समाधानमा सात करोड लाग्ने प्रतिवेदन तयार गरे पनि पहिरोको एक्सरे गरेपछि विज्ञले लागत बढाएर १७ करोड ९९ लाख खर्च हुने पुर्याएका थिए । त्यसलाई गण्डकी प्रदेशको नीति तथा योजना कार्यालयले पारित गरिसकेको छ ।’
पहिरोको समस्या समाधानका लागि पूर्वाधार कार्यालयमा चालु आर्थिक वर्षमा ५० लाख र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमा १० लाख बजेट आए पनि पहिरो नियन्त्रणसम्बन्धी काम भएको छैन । पर्याप्त बजेट प्राप्त नहुँदा काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख घिमिरेले बताए ।
उनले पहिरोको माथि नाली निर्माण गर्न तत्काल चार करोड आवश्यक पर्ने भन्दै ५० लाखमा काम गर्न नसकिने बताउँदै बागलुङ नगरपालिकामा उक्त बजेट पठाउन समन्वय गरिरहेको जानकारी दिए ।
अठार करोडको डिपीआर बनेको परियोजनालाई ६० लाख बजेट प्रदेशले पठाउँदा समस्या भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । ‘हामीलाई करोडौँ चाहिन्छ, स्थानीय सरकारले आफ्नो ढङ्गले पहिरोमा जाली भर्ने, डोजरले सडक सुचालु गर्दै आएका छौँ’, खड्काले भने, ‘अध्ययन गर्न नै तीन वर्ष लाग्यो १८ करोडको लागतमा समस्या समाधान गर्न सकिने भनियो तर ६० लाख आएपछि समस्याको दीर्घकालीन समाधान गर्न वर्षौं लाग्ने देखियो, नगरपालिकाले अस्थायी नाली निर्माण गरेर क्षति कम गराउने गरी भल तर्काउने नाली निर्माणमा जुटेको छ ।’
सात सय ५० मिटर लामो र एक सय ५० मिटर चौडा पहिरोले सयौँ रोपनी जमिन बगिसकेको छ भने १२ वटा घर जोखिममा परेका छन् । सडक मर्मतका लागि हालसम्म दुई वटा ठूला अध्ययन भए भए पनि त्यो अध्ययनमा मात्र समिति रहेको स्थानीय रामबहादुर भण्डारीको टिप्पणी छ ।

प्रतिक्रिया