लुम्बिनी । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।
परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्तरुपमा आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् ।
‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि प्रार्थना गर्दै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्ति अपरिहार्य भएको सन्देश पनि प्रवाह गरेका थिए ।
यसका साथै उनीहरुले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण निर्माण गरिरहेको सन्देशसहित नेपालमा लगानीका लागि पनि उनीहरूले विश्वभर सन्देश प्रवाह गरेका एचसिसीएनका पदाधिकारीले बताएका छन् ।
आयोजकहरुले लुम्बिनीबाट शान्तिको सन्देशका साथै नेपाललाई लगानीको गन्तव्यका रुपमा चिनाउन र आगामी महिना नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको वातावरण निर्माण गर्न यो कार्यक्रमको आयोजना गरिएको बताएअनुसार नेपालमा विदेशी लगानी भित्र्याउने अवसरका रुपमा पनि यस सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।
धार्मिक एवं सांस्कृति पर्यटनका लागि लुम्बिनीको प्रचारप्रसार गर्न तथा नेपालमा विदेशी लगानी भित्र्याउनका लागि यहाँ लगानीको सहज वातावरण रहेको सन्देश प्रवाह गर्न लुम्बिनीमा विभिन्न देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्यदूतहरूको सहभागितामा सो कन्क्लेभको आयोजना गरिएकाले यसै विषयमा लुम्बिनीमा तीन दिनसम्म छलफल गरिएको थियो ।
आगामी महिना नेपाल सरकार, लगानी बोर्ड र उद्योग वाणिज्य महासङ्घसमेतको आयोजनामा नेपालमा लगानी सम्मेलनको आयोजना गरिएको छ । सो सम्मेलनका लागि नेपालमा बढीभन्दा बढी विदेशी लगानी भित्राउन यहाँ लगानीको वातावरण छ भन्ने सन्देश दिने काम यस तीन दिने सम्मेलनमा भएको आयोजकहरुले जनाएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति, समृद्धि र आर्थिक विकासलगायतका विषयमा विदेशी पाहुनाहरुसँग छलफल गरेका थिए । उनले शान्ति र समृद्धि एकअर्काका पूरक हुन् भन्दै यसको सन्देश लुम्बिनीबाट नै अन्तर्राष्ट्रियस्तरमा पुग्नु महत्वपूर्ण भएको बताएका थिए ।
विभिन्न विषयका ‘सेसन’ आयोजना गरिएकामा ‘बिजनेस सेसन’ मा उनले विकासको गतिलाई थप अघि बढाउन शान्ति आवश्यक रहेको र लुम्बिनीले विश्वमा शान्तिको सन्देश दिने भएकाले यहाँबाट शान्ति र समृद्धिको सन्देश दिनु उचित रहेको बताए ।
“नेपालमा व्यापार व्यवसाय गर्ने धेरै क्षेत्रहरु छन् । ती क्षेत्रमा लगानीका लागि कुनै कानुन वा नीतिले अवरोध गरेको छ भने त्यसलाई पुनरावलोकन गर्न नेपाल सरकार तयार छ”, उनले भने,“लगानीलाई प्रोत्साहन गर्न र आर्थिक विकासलाई गति दिन सरकारले लगानीकर्ताको सल्लाह र सुझावलाई गम्भीर रुपमा लिइरहेको छ ।”
सरकार परिवर्तन हुनु भनेको नीतिमा परिवर्तन नभएको स्पष्ट गर्दै उनले भने “म सबै राजदूत र कूटनीतिज्ञहरुलाई आ–आफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गर्दछु ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं एचसिसीएनका सहायक डिन चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धको महत्वका बारेमा चर्चा गर्दै नेपालमा लगानीका लागि विश्व समुदायसँग आग्रह गरे ।
अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्तिको सन्देश विश्वव्यापी फैलाउन र नेपालमा लगानीका अत्यधिक अवसरहरु रहेकाले ती अवसरको सदुपयोग गरी यहाँ लगानी गर्न कूटनीतिक समुदायमार्फत विश्वका लगानीकर्तासमक्ष आग्रह गरे ।
“शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू बिना कुनै डर स्वतन्त्रपूर्वक सञ्चालन हुँदा लगानीको वातावरण थप प्रवद्र्धन हुँदै उद्यमशीलता विस्तार हुन्छ र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण निर्माण हुन्छ”, उनले भने,“लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको सन्देश विश्वभर पुर्याउँ र लगानीको वातावरणको उपयोग गरी नेपालमा थप लगानी भित्र्याउँ भनी विश्वका लगानीकर्ताहरुलाई म आह्वान गर्दछु ।”
अध्यक्ष ढकालले नेपालमा आगामी महिना आयोजना गरिएको लगानी सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ताहरुलाई सहभागी गराइ लगानी जुटाउन, आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत् तथा स्वच्छ ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेको पनि जानकारी दिए ।
नेपाल लगानी बोर्डका प्रमुख सुशील भट्टले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी गराएका थिए । उनले नेपालमा वैदेशिक लगानीका लागि राम्रो अवसर र सहज वातावरण रहेको बताउँदै लगानीकर्तालाई ढुक्कसँग नेपालमा लगानी ल्याएर आउन आह्वान गरे ।
नेपालमा कृषि, ऊर्जा, पर्यटन, उद्योग जस्ता क्षेत्रमा वैदेशिक लगानीका लागि राम्रो अवसर भएको उनले बताए । नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावना र लुम्बिनीको पर्यटकीय महत्वको बारेमा जानकारी गराए । उनले लुम्बिनीजस्तो शान्ति भूमिमा धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्ने खालको लगानी गर्दा राम्रो हुने बताए ।
एचसिसीएनका तर्फबाट डिन विष्णुकुमार अग्रवालले यस सम्मेलनले समृद्धिका लागि शान्तिको आवश्यकतामा जोड दिएको बताए । उनले भने, “विश्वका कैयन् राष्ट्रका राजदूतको यो उपस्थितिले बुद्ध जन्मभूमिलाई सम्मान मात्र गरेको छैन, अझ बढी शान्तिपूर्ण र समृद्ध विश्व बनाउनका लागि पनि योगदान गरेको छ ।”
उनले एचसिसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्नुका साथै प्रविधि स्थानान्तरण तथा व्यापार व्यवसाय विस्तारमा भूमिका निर्वाह गर्दै आएको जानकारी पनि दिए ।
बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले लुम्बिनी क्षेत्रमा पर्यटन पूर्वाधार र आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रमा पर्याप्त विकास भए पनि यस खालका अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना हुँदा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरे ।
सम्मेलनका सहभागीहरुले विश्व शान्तिको केन्द्र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित सम्मेलन शान्तिपूर्ण र समृद्ध विश्व बनाउने आधारशिला निर्माणमा उपयोगी भएको विश्वास व्यक्त गर्दै विश्वका लगानीकर्ताहरुलाई नेपाल एक आकर्षक लगानी एवं पर्यटन गन्तव्य भएको सन्देश प्रवाह गर्न सफल भएको बताएका थिए ।
शुक्रबार सम्पन्न सम्मेलनमा सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिकका गैरआवासीय राजदूतको सहभागिता थियो ।

प्रतिक्रिया