जाजरकोट भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि थप ९० करोड निकासा


काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड निकासा भएको छ ।

यसमध्ये ५० करोड जाजरकोट र ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिइन् । हालसम्म अस्थायी आवास निर्माण गर्न कूल तीन अर्ब १६ करोड निकासा भएको प्राधिकरणले जनाएको छ । हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार नौ सय ३७ पुगेको छ ।

अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ । अहिलेसम्म ४८ हजार पाँच सय ६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको सङ्ख्या सात हजार आठ सय ३३ रहेको प्राधिकरणले जनाएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।