२१ वर्षपछि पक्राउ परे श्रीमती हत्याका अभियुक्त


काठमाडौँ । श्रीमती हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका प्रतिवादीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सर्वस्वसहित जन्मकैद पाएका धादिङका सूर्यबहादुर दवाडीलाई पक्राउ गरिएको हो ।

धादिङको ज्वालामुदी गाउँपालिका–१ का दवाडीले अंश विवादमा श्रीमतीको हत्या गरेका थिए । प्रहरीका अनुसार अंश सम्बन्धी विषयमा झगडा भई आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसी कर्तव्य गरी रूखमा झुण्डाई हत्या गरी शवलाई धादिङ जिल्ला मैदीस्थित ग्याल्मा र बुढीगण्डकीको दोभानमा लगि जलाई सतगद गरेका थिए ।

धादिङ जिल्ला अदालतको २०६१ जेठ ५ को फैसलाले दवाडीलाई सर्वस्वसहित जन्मकैद र सर्वोच्च अदालतको २०६७ माघ ३ गतेको फैसला पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई धादिङ जिल्ला अदालतको मिति २०६१ जेठ ५ गतेको फैसलालाई सदर गरेको थियो ।

दवाडी फरार भई भारतको विभिन्न स्थानहरूमा लुकीछिपी बसेको र हाल नेपालमा प्रवेश गर्दैछन् भन्ने विशेष सूचनाको आधारमासीआईबीको टोलीले माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको थियो । दवाडीलाई धादिङ पठाइएको सीआईबीले उल्लेख गरेको छ ।