पूर्वी तराईमा लोकप्रिय बन्दै ‘भक्का’



झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ ।

पुस-माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्छन् । यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भक्का बनाउँछन् ।

झापाको ग्रामीण बस्तीमा सानो माटाको हन्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीमा पनि भक्का पसल बढ्दै गएका छन् । ठूला तारे होटेलदेखि साना चिया पसलमा खाजाका रुपमा भक्काको बजार दिनानुदिन बढ्दै गएको छ ।

‘भक्का राजवंशी समुदायको मौलिक परिकार हो,’ साहित्यकार पवन राजवंशी भन्छन्, ‘पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ ।’

सयौं वर्षअघि पूर्वी तराईको जंगलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रुपमा भक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउँछन् । माछासँग पनि भक्का खाने गरिएको उनले बताए ।

सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ । भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीको भनाइ छ ।

यसपालि भद्रपुरको सिटी गार्डेन र बिर्तामोडको डोमालाल रंगशालामा भक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

बिर्तामोडको कार्यक्रममा १५० राजवंशी महिलाले दुई हजार किलो चामलको पीठोबाट भक्का बनाउने भएका छन् । मास्टरसेफ सन्तोष राजवंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ ।

यही पुस २९ गते नै भद्रपुरमा राजवंशी समाज विकास समितिले कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजवंशीले बताए । कार्यक्रममा भारतीय कलाकारको समेत सहभागिता रहनेछ ।

राजवंशी समुदायको मौलिक खानेकुरा भएकाले उनीहरु नै भक्काको प्रचारमा जुटेका छन् । भक्का दिवस पनि राजवंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो । झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भक्का दिवसका अवसरमा बिदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी

पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

    काठमाडौँ ।  पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच

सफाइ पाएपछि सन्दीपले भने-खेलमार्फत राष्ट्रका लागि थप योगदान दिन्छु

काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि समर्थकले

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ