मानहुँकोटमा पर्यटकको चहलपहल बढेपनि पानी नहुँदा होटल व्यवसाय गर्न सकस



मिला दरै, तनहुँ ।  तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्द्धन हुन सकेको छैन। केही पर्यटकीयस्थलको भने प्रवर्द्धन हुने क्रममा छ। बन्दीपुर बढी प्रवर्द्धन भएको पर्यटकीयस्थल हो। व्यास नगरपालिका-५ मानहुँकोटबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदयले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ।

घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाटेपछि दमौली बजार र हिमश्रृंखला छर्लङ्ग देखिन्छ। यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्न हिउँदमा मानहुँकोटमा पर्यटकको घुँइचो लाग्छ।

मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँका लोभलाग्दो प्राकृतिक दृश्य नै पर्यटकलाई तान्ने प्रमुख विषय हुन्।पानीको अभावले मानहुँकोट वरपरका बासिन्दा बसाइँसराइ गरी अन्यत्र गएका थिए। पर्यटकीय चहलपहल बढेसँगै उनीहरू पुर्ख्यौली गाउँ फर्किन थालेका छन्। तर पानीको समस्या भने ज्युँका त्युँ छ।

पर्यटकीय क्षेत्रका रुपमा मनुङकोटको विकास हुँदै गएपछि यहाँका स्थानीयवासी होटल व्यवसायमा लागेका छन्। मानहुँकोट पर्यटकीयस्थल बनेपछि यहाँ बस्तीसमेत बढेको छ। पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीय स्थलका रुपमा विकास भएसँगै स्थानीय फर्किंन थालेका हुन्।

विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँसरी मानहुँकोटको फेदीतर्फ झरेका थि। पानी सहजै पाउने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन्। पाँच वर्षयता मानहुँकोट पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ। यहाँ पर्यटकको आवतजावत हुन थालेपछि गाउँले फर्किंन थालेका स्थानीय ६७ वर्षीय पद्मबहादुर थापामगर बताउँछन्।

‘खानेपानीको अभावले यहाँबाट धेरैले बसाइँ सरेका थिए। अहिले विस्तारै फर्किन थालेका छन्। तर, पानीको समस्या भने उस्तै छ,’ उनले भने। पहिले स्थानीयले खेतीपाती गरे पनि अहिले व्यवसाय फेरिएको थापामगर बताउँछन्। जीवनशैली र काम फेरिएपनि पानीको समस्या भने समाधान भएको छैन।

‘पानी आउँछ की भनेर आश गरी बसेका छन्। तर, अहिलेसम्म समस्या समाधान भएको छैन। नगरपालिकाले ट्याङ्करमा पानी ल्याएर दिन्छ। किनेर नै खाइरहेका छौँ,’ पद्मबहादुरले भने। ट्यांकरको सिमित पानीले आफू र गाइवस्तुलाई खुवाउन पुग्दैन। नपुगेपछि दुई घन्टा हिँडेर पानी लिन बेसी नै झर्छन्। ‘त्यहाँ आउजाउ गर्न दुई घन्टा लाग्छ। भारी बोकेर डाँडामा आउने हो कहाँ सजिलो छ र ? गाईबस्तु अलिअलि पालिएका छन्। यसका लागि आकाशे पानी जम्मा गगर्ने गरेका छौँ,’ उनले भने।

मानहुँकोटमा पर्यटकको चहलपहल बढेपछि होटल व्यवशाय गर्दै आएकी जितुमाया बस्याल पानीको अभावमै व्यवसाय सञ्चालन गर्न सकस भएको बताइन्। ‘धारा नभएकाले ट्याङ्करमा ल्याइएको पानी र मिनरलवाटर किनेर व्यवसाय चलाउँदै आएका छौँ। यहाँ होटल व्यवसाय फस्टाउँदै गए पनि पानीको अभाव उस्तै छ,’ उनले भनिन्।

यहाँ पानीको समस्या समाधान गर्न सकिए अझै पर्यटक बढ्ने बस्यालको अनुमान छ। ‘बाटो सजिलो भएको छ। ठूला गाडी नचले पनि सानाले चलेको छ। तर, पानीको समस्या भने हट्न सकेको छैन। हामी त होटल व्यवसायीलाई पानीको समस्याले झन गाह्रो बनाएको छ,’ उनले भनिन्। धारा नहुँदा खानेपानीदेखि शौचालयमा राख्नसमेत किनेको पानी चलाउनुपर्दा व्यवसायी मारमा परेको उनले गुनासो गरिन्।

‘कहिलेकहीँ त पाहुनालाई हात धुने पानीसमेत नहुने अवस्था छ। केहीले त हात धुनसमेत नपाएको अवस्था छ,’ उनले भनिन्। धारामा पानी आए व्यवसायीसँगै यहाँ आउने पर्यटकले सास्ती र महँगी झेल्न नपर्ने उनको भनाइ छ।

पहिले प्रशस्त सुन्तला खेती हुने मानहुँकोटमा अहिले पानीकै अभावका कारण सुन्तलाखेती मासिन थालेका छन्। ‘पानीको अभाव र रोग देखिएर नै यहाँको सुन्तलाखेती मासियो। तर, सुन्तलाखेती भए पनि स्वादिलो छैन र सुन्तलाको दाना पनि साना छन्। खै के भएको हो यस्तो?,’ पद्मबहादुरले भने।

‘यहाँ पहिलाभन्दा बढी चर्को घाम लाग्छ। त्यहीँमाथि पानीको समस्या छ। केको खेतीपाती हुन्छ र ? सबै चिज किनेर खाने हो। आकाशे पानीको भर पर्नुपर्ने ठाउँ हो। त्यहीमाथि समयमा पानी पर्दैन अनि केको खेती हुनु !,’ उनले भने।

विगतमा यहाँ करिब ५०/६० परिवार बस्दै आएकामा पानीको समस्याले च्यापेपछि उनीहरु मानहुँकोटको फेदी अलैचे, पाटनतर्फ झरेका थिए। मानहुँकोटमा केही सुविधा सम्पन्न होटल बन्ने क्रममा छन्। सुविधा सम्पन्न होटल बने पनि पानीको समस्याले सकस हुने व्यवसायी बताउँछन्।

‍व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न लागिएको बताए। उनले चालु आर्थिक वर्षदेखि पर्यटकीयस्थल मानहुँकोटको खानेपानी समस्याको समधान गर्ने गरी काम गर्न लागेको जानकारी दिए। प्रमुख न्यौपानेले गण्डकी प्रदेश सरकारले मानहुँकोटको खानेपानी समस्या समाधानका लागि चालु आवमा  दुई करोड विनियोजन गरेको बताए। बजेट विनियोजन भइसकेकाले ठेक्का प्रक्रिया अघि बढाइसकिएको छ।

‘यहाँको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले गत वर्ष  दुई करोड बजेट विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज गएको थियो। गत वर्ष पानीको मुहानको स्रोत खोजी तथा मिलाउँदा समयमा काम गर्न नसक्दा रकम फिर्ता गयो। खानेपानीको योजना विशेष योजना हो। बजेटअनुसार बोलपत्र आह्वान गरिन्छ। बजेट घोषणा गरे पनि यहाँ आइनपुग्दा योजना निर्माणमा समस्या भएको थियो। अहिले आएको छ र कार्यान्वयनको प्रक्रियामा गएका छौँ,’ उनले भने। बोरिङ गरी पानी मानहुँकोटवासीको घरमा पुर्याउने नगरपालिकाको लक्ष्य छ।

फोहरमैलाका डङ्गुर

मानहुँकोट पर्यटकीयस्थलका रुपमा विकास भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यहाँ आउने आन्तरिक पर्यटकले खानेपानी तथा पेयपदार्थको प्लाष्टिकका बोतल, प्लाष्टिकजन्य फोहरमैला बढ्दै गएको छ। यहाँ घुम्न आउने पर्यटकले जथाभावी फोहरमैला फ्याँकिदिँदा चुनौती बढेको छ। मानहुँकोटका विभिन्न स्थानमा फोहरमैलाको व्यवस्थापनका लागि डस्टविन राखिएका छन्। तर फोहर यत्रतत्र फाल्ने गरिएको पाइएको छ।

फोहरमैला व्यवस्थापनका लागि रोटर्‍याक्ट क्लब, लायन्स क्लब, लियो क्लबले सरसफाइ गरे पनि व्यवस्थित हुने सकेको छैन। प्लाष्टिकजन्य फोहरमैला केही स्थानमा जलाउने गरिएको छ। धुँवाले प्रदुषण बढेको छ। दुई/तीन दिनको फरकमा यहाँ नगरपालिकाले फोहरमैला उठाउने गरेको छ। तर, पनि फोहरको समस्या पूर्णरुपमा समाधान हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु