मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन



म्याग्दी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ ।

सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुन् । बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

“बेनीदेखि मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको स्तरोन्नति प्रदेश सरकारमार्फत र खोरियादेखि ढोरपाटनसम्म मार्ग खोल्ने काम सङ्घीय सरकारले सँगै अघि बढाएको छ,” उनले भने, “धवलागिरि गाउँपालिका–२ खोरियामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुङले रु तीन करोडको आयोजना अघि बढाएको छ ।”

पूूर्वाधार कार्यालयमार्फत २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्र गर्न र ६ किलोमिटर दूरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारले धारापानीदेखि ताकम हुँदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालु आर्थिक वर्षमा रु २५ करोडको आयोजना ठेक्का लगाउन लागेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

“म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुना–जलजला ढोरपाटन सडकलाई प्राथमिकता दिएका छौँ,” उनले भने, “शिवाङदेखि मच्छिम हुँदै मुनासम्मको सडक कालोपत्र गर्न अर्को प्याकेजको आयोजना सुरु गर्छौं । मुना मरेनी हुदै ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित बनाउन सङ्घीय सरकारमार्फत काम थालिएको छ ।”

दरवाङदेखि मुना हुँदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न गाउँपालिकाले रु एक अर्ब बजेट अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।

म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

भौगोलिक रुपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने सडकले धेरै वर्षको प्रयासपछि महत्व पाएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

“भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो,” उनले भने, “पछिल्लो समय वैकल्पिक सडक बनाउन भएको पहलले सार्थकता पाउन थालेको छ ।” सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उपाध्यक्ष पुनले बताए।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ