प्रधानमन्त्रीद्वारा सुनसरीमा देशको दोस्रो ठूलो विद्युत सबस्टेसनको उद्घाटन



काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो ।

ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो । उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो ।

पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा छ ।

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००÷२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीनवटा पावर ट्रान्सफर्मर छन् ।

इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् प्रवाह हुनेछ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरुपमा खपत गर्न र देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गर्न इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए ।

“सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्ति गरिने छ, यसबाट त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ”, कार्यकारी निर्देशक घिसिङले भने,“यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल–भारत तथा बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।”

कार्यकारी निर्देशक घिसिङका अनुसार पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो विद्युत् केन्द्र बनेको छ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् उपलब्ध गराउन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।

अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ ।

कोशी करिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यसैगरी तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण ‘हब’ इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

इनरुवा सबस्टेसनलाई आगामी दिनमा विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको प्राधिकरणको भनाइ छ । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । विसं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नुपर्दा निर्माणमा केही ढिलाइ भएको सम्बन्धित आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत नै चार सय केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौँडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौँडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।

नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत एक करोड ४३ लाख अमेरिकी डलर र  २० करोड ४८ लाख रहेको छ । सबस्टेसन निर्माण सुपरीवेक्षण प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर