पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग


गण्डकी । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् ।

होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको जनाउँदै आफूूहरूको मागको सुनुवाइ नभएर आन्दोलन गर्न बाध्य हुने बताए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको उनको भनाइ छ ।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचितरूपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताए । उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए । कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष रचना पन्त, पत्रकारद्वय माधव ढुङ्गाना र नरेश केसी, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीलगायतले पोखरा र लुुम्बिनीबीचको पर्यटकीय साझेदारीमा जोड दिए ।

उक्त अवसरमा होटल सङ्घ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय ‘प्याकेज’ सार्वजनिक गरिएको थियो । अभियानअन्तर्गत सङ्घले विभिन्न पाँच प्याकेज सार्वजनिक गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन् । होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र रु तीन हजारदेखि २६ हजार मूल्यबीचका छन् ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताअनुरुप दुई दशकअघि सञ्चालित अभियानमा भैरहवाका साथै नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पनि समेटिएको सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

अभियानको उद्देश्य पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने रहेको जनाउँदै सङ्घका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउनसमेत यो अभियानले बल दिने बताए । उक्त अवसरमा पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजारले रोजगारी पाएको कार्यक्रममा जानकारी गराइयो ।