भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार



भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो ।

विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।

“विद्युत् बल्न थालेपछि दैनिक जीवन सहज बनेको छ”, उनले भने, “पारि भोजपुर सदरमुकाम झलमल्ल हुँदा हाम्रो ठाउँ अँध्यारो हुन्थ्यो । वडाको पहलमा हाम्रो ठाउँमा विद्युत् बल्यो धेरै खुसी लागेको छ ।”

विद्युत्ले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताए । विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँचमा जोडिन सहज भएको उनको भनाइ छ । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै आफ्नै घरमा बसेर देश–विदेशको जानकारी लिने गरेको उनले बताए।

“लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ”, उनले भने, “विद्युत् विस्तारपछि इन्टरनेटसँगै रेडियो, टिभीको माध्यमबाट देश–विदेशका सूचना थाहा पाउन सहज भएको छ । वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छौँ ।”

भौगोलिकरूपमा विकट रहेका यी स्थानमा लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए। वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ ।

“हाम्रो वडा भौगोलिकरूपमा निकै विकट छ”, वडाध्यक्ष राईले भने, “विद्युत् नहुँदा स्थानीयलाई धेरै नै समस्या छ । अहिले हामीले पहिलो प्राथमिकतामा राखेर विद्युत्को काम अघि बढाएका छौँ । अथक प्रयासपछि दुई स्थानका स्थानीय अहिले विद्युत्को पहुँचमा जोडिएका छन् ।”

सीमित स्रोतसाधनको अधिकतम् उपयोग गर्दै जनतालाई दिएको बचन पूरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । यहाँका सबै घरपरिवारमा आगामी वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्य रहेको उनले बताए । विद्युत् विस्तारका लागि वडाले रु १२ लाख बजेट विनियोजन गरेर तार खरिद गर्ने तयारी गरेको वडाध्यक्ष राईले बताए ।

“जनतालाई दिएको बचनअनुसारको काम अघि बढाएको छु”, उनले भने, “कतिपय काम वडाको एक्लो प्रयासले मात्र गर्न पनि सम्भव छैन । बजेट सीमित छ । तर पनि वडाको बजेटसँगै स्थानीयसँग आफैँ श्रमदानमा जोडिएर हालसम्म ४० प्रतिशत बढी जनतालाई विद्युत् बाल्ने वातावरण तयार गरेका छौँ । आगामी वर्षभित्र सबै क्षेत्रमा विद्युत् पुर्याउने मेरो लक्ष्य छ ।”

अहिले बाक्चखा र भञ्याङमा विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष राईको भनाइ छ । आगामी माघसम्ममा यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिसक्ने अध्यक्ष राईले जानकारी दिए । यो वडामा जम्मा तीन सय ५६ घरपरिवार रहेका छन् ।

वडा कार्यालयले सडक, कृषि खानेपानी, रोजगारीको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष राईले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक तालिमसँगै पाँच सय दन्तेओखरको बिरुवा वितरण गरेको उनको भनाइ छ ।

पन्ध्र जनालाई हाउसवायरिङ र २५ महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिइएको छ । किसानलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालनसम्बन्धी तालिम दिएको वडा कार्यालयले जनाएको छ । तालिम पाएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको उनको भनाइ छ । स्थानीयको आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने

राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

सिधाकुराको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा